‘धुनहरुमा तारादेवी र अरुणा लामा’ पोखरामा


ब्युटी न्युज नेपाल
पोखरा १४ असार

असार २१मा पोखरामा एउटा विशेष सांगीतिक कार्यक्रम हुने भएको छ । पोखरामा सक्रिय रहेका गायिकाहरुको संस्था ‘हार्मोनी – द मोर्डन सङ्गस्ट्रेसेस अफ पोखरा’ ले यो कार्यक्रम आयोजना गर्न लागेको हो ।

नेपाली सांगीतिक क्षेत्रका दुई अत्यन्त लोकप्रिय महिला स्वरहरुलाई ट्रिब्यूट गर्दै आयोजना गर्न लागिएको ‘टेस्ट अफ हार्मोनी स् धुनहरुमा तारादेवी र अरुणा लामा’ शीर्षकको कार्यक्रममा पोखरेली गायिकाहरुले उनीहरुका लोकप्रिय गीत–संगीत प्रस्तुत गर्नेछन् ।

सोही कार्यक्रममा आयोजक संस्थाले ३ जना गायिकाहरुलाई सम्मान गर्ने भएको छ । समारोहमा दार्जीलिङकी गायिका दावा ग्याल्मो, गायक कर्ण दासकी आमा तथा कलाकार रत्न दासलाई योगदानको कदर गर्दै सम्मान गरिने छ भने उदीयमान गायिका जोनिशा पौडेललाई प्रोत्साहन सम्मान अर्पण गरिने आयोजक संस्थाले जनाएको छ ।

पोखरा सभा गृहमा शनिवार दिउँसो १ बजेपछि प्रारम्भ हुने उक्त सांगीतिक कार्यक्रममा दिवंगत गायिकाहरु तारादेवी तथा अरुणा लामालाई विशेष सम्झना गरिने छ । सांगीतिक कार्यक्रममा अरुणा लामा तथा तारादेवीका लोकप्रिय कालजयी गीतहरु प्रस्तुत गरिने आयोजक संस्थाकी अध्यक्ष तथा गायिका ईतु जोजिजुले बताएकी छिन् ।

‘हामीले नेपाली सांगीतिक क्षेत्रका दुई नक्षत्रप्रति समर्पण गर्दै यो कार्यक्रमको डिजाइन गरेका छौं, अध्यक्ष जोजिजू भन्छिन्—‘यो धेरै दर्शक अनि स्रोताहरुका लागि विशेष हुने हामीले विश्वास लिएका छौं ।’

सांगीतिक कार्यक्रममा संस्थामा आवद्ध सम्पूर्ण गायिकाहरुले आ–आफ्नो प्रस्तुती दिनेछन् । त्यसक्रममा गायिकाहरु ईतु जोजिजु, कौशल्या गुरुङ, शितल थापा, मितु पाल सिंह, अजुदा थापा, बबी सुनार, इनिशा दुरा, प्राप्ति तुलाचन, रजनी रिदम राई, ममता गुरुङ, लक्ष्मी गिरी, स्नेहा गुरुङ, सबिना सुनाम, रुमा तुप्रिहाङ थापा, एलिना गुरुङ आदिले आफ्नो विशेष प्रस्तुती दिने छन् ।

कार्यक्रममा यी गायिकाहरुलाई पोखराकै लोकप्रिय गायकहरु कर्ण दास, रामभक्त जोजिजु, बिनोद बानियाँ तथा ज्ञान थापाले पनि साथ दिने छन् ।

सांगीतिक क्षेत्रमा क्रियाशिल महिलाहरुको बलियो उपस्थिती जनाउनका लागि स्थापना भएको यो संस्थाले विगतमा पनि विभिन्न सांगीतिक कार्यक्रम आयोजना गरिसकेको छ । संस्थले विगतमा लिजेन्डरी हार्मोनियस इभिनिङ तथा टेस्ट अफ हार्मोनी शीर्षकका सांगीतिक कार्यक्रम आयोजना गरेर दर्शक तथा स्रोताको मन जितिसकेको छ ।