चलचित्र गौथली १ साउनमा आउने


ब्युटी न्युज नेपाल
काठमाडौँ, १५ बैशाख

नेपाली चलचित्र ‘गौथली’ आगामी साउन १ गतेदेखि देशभर प्रदर्शनमा आउने औपचारिक घोषणा गरिएको छ। काठमाडौँमा आयोजित कार्यक्रममा पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले चलचित्र  देशभर प्रदर्शनमा आउने जानकारी दिएको हो। करिब दुई दशकअघि डा. भोला रिजालको कथामा बनेको ‘गौथली’ले ५१औँ दिन मनाउँदै सफलता हासिल गरेको थियो, जसको नयाँ संस्करण अब फरक शैलीमा प्रस्तुत हुन लागेको हो।

चलचित्रलाई डा. कपिल रिजालले निर्देशन गरेका छन्। यसअघि उनले ‘ह्यारीकी प्यारी’ निर्देशन गरिसकेका छन्। नयाँ ‘गौथली’मा अरुण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा देखिनेछन्। साथै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराललगायतका कलाकारहरूको अभिनय रहनेछ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपाली पनि रहेका छन्।

फिल्मको कथा डा. भोला रिजालकै रहेको छ भने पटकथा तथा संवादमा कपिल रिजालसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेको सहकार्य छ। ‘गौथली’ले घर, परिवार र आपसी सम्बन्धको भावनात्मक कथा प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्ममा शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत रहेको छ। हरि हुमागाईंको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको चलचित्रलाई रिच, एप्पल र एफडी कम्पनीले वितरण गर्नेछन्।