ब्युटी न्युज नेपाल
काठमाडौँ, १८ चैत
नयाँ वर्षको अवसर पारेर चैत्र २७ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘राम नाम सत्य’ अहिले चर्चामा छ। सो मितिमा अन्य नेपाली फिल्महरू प्रदर्शनबाट पछि हटेपछि निर्देशक माइकल चन्दको यो फिल्मले सोलो रिलिजको अवसर पाएको हो, जसले निर्माण टिममा थप उत्साह ल्याएको छ । चलचित्र एक्लै आउने भएपछि बाँकी कलाकारहरु पनि उत्साहित भएका छन् ।
फिल्मको प्रचारप्रसार पनि तीव्र बनेको छ। विशेषगरी ‘धागोले बाटेको, हुम्लाको लिमी’ बोलको गीत दर्शकमाझ लोकप्रिय बन्दै गएको छ भने टिजरले पनि राम्रो प्रतिक्रिया पाइरहेको छ।
चलचित्रमा विराज भट्ट, सुशील श्रेष्ठ, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, खुशी कार्की, सुनिल थापा, प्रशान्त ताम्राकार र दिनेश डीसी लगायतका कलाकारहरूको अभिनय देख्न पाइनेछ।
यसैबीच, नायिका दिव्या रायमाझीले फिल्मप्रति आफ्नो उत्साह व्यक्त गरेकी छिन्। उनका अनुसार यो फिल्ममा उनले अघिल्ला कामभन्दा फरक शैलीमा अभिनय गर्ने अवसर पाएकी छिन्। “म यो फिल्मलाई लिएर निकै उत्साहित छु। यसमा मैले आफूलाई नयाँ ढंगले प्रस्तुत गर्ने मौका पाएकी छु,” उनले भनिन्।
दिव्याले फिल्ममा आफू आधुनिक राजकुमारीको भूमिकामा देखिने जानकारी दिँदै फिल्ममा एक्सनसँगै भावना, प्रेम र सस्पेन्सको संयोजन रहेको बताइन्। “यो केवल एक्सन फिल्म होइन, दर्शकलाई विभिन्न स्वाद दिने पूर्ण प्याकेज हो,” उनले थपिन्।
फिल्मप्रति आफ्नो विश्वास व्यक्त गर्दै उनले दर्शकले यसबाट भरपूर मनोरञ्जन प्राप्त गर्ने बताइन्। साथै, सहकलाकार सुशील श्रेष्ठसँग काम गर्न निकै सहज र रमाइलो अनुभव भएको पनि उनले खुलाइन्।
माइकल चन्दकै पटकथा तथा संवाद रहेको यस चलचित्रमा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी रहेको छ।

