लिखु छहरे महोत्सवमा आज बुधबार शान्तिश्री परियारको विशेष प्रस्तुति रहने


ब्युटी न्युज नेपाल
काठमाडौँ, १० मंसिर

नुवाकोटको लिखु गाउँपालिका वडा नं. ६ स्थित छहरे बजारमा बिगत एक हप्तादेखि चलिरहेको ‘दोस्रो लिखु छहरे महोत्सव २०८२’मा हरेक दिन देशका राष्ट्रिय तथा स्थानीय कलाकारहरुले गीत, संगीत, नृत्य तथा प्रहसन प्रस्तुत गरिरहेका छन् । महोत्सवमा आज बुधबार पनि स्थानीय कलाकार सँगै राष्ट्रिय कलाकारहरुले आफ्नो भव्य प्रस्तुति दिने भएका छन् ।

महोत्सवमा आज अहिलेको पुस्ताकी लोकप्रिय लोक गायिका शान्तिश्री परियारको भव्य प्रस्तुति रहने भएको छ । महोत्सवमा उनले आज आफ्ना विभिन्न चर्चित गीतहरु प्रस्तुत गर्ने महोत्सव आयोजक नमराज ढुंगानाले जानकारी गराएका छन् ।

गायक सुवास महतले कार्यक्रमलाई सञ्चालन गर्दै आएका छन् । उनको पनि आज विशेष प्रस्तुति रहेको छ । यसै गरी कलाकारहरु सविना दाहाल, बिमल गुरुङ, सुनिता ठकुरी, सूर्यमणी आचार्य, उत्तम भण्डारी, कुमार भण्डारीको पनि विशेष प्रस्तुति रहने छ ।

लिखु गाउँपालिकाको सहयोग तथा राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालद्धारा आयोजित यो महोत्सवमा विभिन्न स्थानीय कृषी उत्पादनको बिक्रीसँग सांस्कृतिक प्रस्तुतिहरु नियमित रुपमा हुने गरेको छ ।

महोत्सवमा स्थानीय देखि राष्ट्रिय स्तरका कलाकारको प्रस्तुति रहने भएकाले दैनिक दर्शकहरुको उल्लेख्य सहभागित हुने गरेको महोत्सव संयोजक सुवास महतले जानकारी गराए । उनका अनुसार यो महोत्सव १४ मंसिरसम्म छहरेमा जारी रहने छ । महोत्सवका अध्यक्ष नमराज ढुंगानाका अनुसार स्थानीय उत्पादन तथा कृषी उत्पादनहरुलाई महोत्सवमा प्रवर्धन गरिएको छ ।