ब्युटी न्युज नेपाल
काठमाडौँ, २४ असोज
चलचित्र ‘जेरी अन टप’ यही ३१ असोजबाट तिहारको अवसरमा रिलिज हुँदैछ । तर यो चलचित्रको मुख्य अभिनेता अनमोल केसी यति बेला गम्भिर बिरामी छन् । उनको स्वास्थ्य लाभ हुन अझै केही दिन लाग्ने भएको छ । सोही कारण चलचित्र ‘जेरी अन टप’को शुक्रबार ललितपुर स्थित लविम मलमा राखिएको ट्रेलर रिलिज कार्यक्रममा समेत उपस्थित हुन सकेनन् ।
अनमोललाई घाँटी अत्याधिक दुखेर १०४ फरन हाईट तापमानको ज्वरो आएपछि बिहीबार उनलाई अस्पाताल लगिएको थियो । उनलाई चिसो र टनसिलको कारण घाटीको समस्या (फरनजाईटिस) भएको उनको परिवारले जनाएका छन् ।
अनमोलको स्वस्थ्यबारे उनका बुबा भुवन केसीले भने,‘अनमोलले साह्रै ज्वरो आएका कारण बिहीबारबाट औषधी चलाईएको छ । टनसिलका कारण अहिले उनलाई बोल्न गाह्रो भएको छ भने अझै केही दिन आराम गर्नु पर्ने भएको छ,’आफ्नो चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा अनमोल आउन चाहेको तर डक्टर र परिवारको सल्लाहमा उनी घरमै आराम गरिरहेको पनि भुवनले बताए ।
चलचित्रको रिलिज मिति नजिकिँदै गर्दा अनमोल बिरामी भएका कारण जेरी अन टपको प्रचार प्रसारमा असर परेको छ । तर यसका निर्माता सरोज न्यौपाने र निर्देशक सुयोग गुरुङले स्वास्थ्य अत्यन्त महत्वपूर्ण पक्ष भएकाले स्वास्थ्य लाभपछि अनमोल केसी चलचित्रको प्रचारमा आउने बताए । ट्रेलर रिलिज कार्यक्रममा यो चलचित्रकी नायिकाहरु आँचल शर्मा, जसिता गुरुङ, निर्माता, निर्देशकदेखि बाँकी कलाकारले पनि अनमोलको स्वास्थ्य लाभको कामना गरे ।