ब्युटी न्युज नेपाल
इटहरी, ९ असार
सुनसरीको रामधुनी नगरपालिकास्थित झुम्कामा ‘चौथो राष्ट्रिय थारु चलचित्र तथा सांस्कृतिक महोत्सव २०८२’ भव्यताका साथ सम्पन्न भएको छ । थारु समुदायको मौलिकता, संस्कृति र फिल्म क्षेत्रलाई प्रवद्र्धन गर्ने बृहत् उद्देश्यका साथ यही असार ६ र ७ गते दुई दिनसम्म चलेको यो महोत्सवले थारु कला र संस्कृतिको उत्थानमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकको विश्वास छ । यो महोत्सव थारु चलचित्र तथा सांस्कृतिक संघ, केन्द्रीय समितिले आयोजना गरेको थियो भने थारु चलचित्र तथा सांस्कृतिक संघ मोरङ र सुनसरी कार्य समिति सह–आयोजकको भूमिकामा रहेका थिए ।
३२ वर्ष अघि नेपाल टेलिभिजनबाट थारु भाषाको टेली सृँखला जित्त भुत निर्देशन गरेका निर्देशक सागर ढुंगेललाई कार्यक्रममा विशेषा सम्मानबाट सम्मानित गरियो । यो महोत्स्वमा सागर ढुंगेलसहित थारु चलचित्र तथा संस्कृतिमा योगदान पु¥याएका विभिन्न समुदायका दर्जनौं कलाकार, निर्देशक, गायक तथा अन्य व्यक्तित्वहरूलाई कदरपत्रले सम्मान गरिएको थियो ।
महोत्सवको पहिलो दिनका कार्यक्रमहरू झुम्कास्थित कलश पार्टी प्यालेसमा आयोजना गरिएको थियो भने दोस्रो दिनका गतिविधिहरू म्याजिक सिनेमा हलमा सम्पन्न भएका थिए । दुवै दिनको महोत्सवको अध्यक्षता थारु चलचित्र तथा सांस्कृतिक संघका केन्द्रीय अध्यक्ष परशुराम चौधरीले गरेका थिए । महोत्सवको पहिलो दिन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की प्रमुख अतिथिको रूपमा उपस्थित रहेका थिए । उनले कार्यक्रममा थारु रीतिरिवाज झल्किने गरी हप्तामा कम्तीमा एउटा कार्यक्रम आयोजना गर्नुपर्नेमा जोड दिँदै यस्ता कार्यक्रमले आन्तरिक तथा बाह्य पर्यटन आकर्षित गर्न सकिने बताए ।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले यस्ता सांस्कृतिक कार्यक्रमहरूलाई आर्थिक, नैतिक तथा भौतिक रुपमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । कार्यक्रममा रामधुनी नगरपालिकाका मेयर शंकर लाल चौधरी, था.क.स.का पूर्व केन्द्रीय अध्यक्ष चन्द्र कुमार चौधरी लगायत थुप्रै चलचित्रकर्मी र थारु समुदायका सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो ।महोत्सवको पहिलो दिन थारु कला, संस्कृति र समाजमा योगदान पु¥याएका विशिष्ट व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरूमा पूर्व था.क.स. केन्द्रीय अध्यक्ष तथा पूर्व गण्डकी र वागमती अञ्चलाधिस नरेन्द्र कुमार चौधरी, पूर्व था.क.स. केन्द्रीय अध्यक्ष चन्द्र कुमार चौधरी, रामधुनी नगरपालिकाका मेयर शंकर लाल चौधरी, समाजसेवी सिताराम चौधरी र दीपा नारायण चौधरी, लेखक तथा निर्देशक सागर ढुंगेल, संगीतकार तथा गायक फणीन्द्र सुवेदी, रामधुनी नगरपालिकाका पूर्व मेयर जय प्रकाश चौधरी, समाजसेवी हरिनारायण चौधरी, कलाकार दिनेश कोइराला, मोडल गणेश बहादुर राउत आर्यान, गायक तथा संगीतकार रामा मण्डल, गायक, संगीतकार तथा वाद्यवादक लाल बहादुर चौधरी, निर्माता तथा निर्देशक लाखमान योञ्जन र भीम लामा, संगीतकार तथा गायक सत्यनारायण चौधरी लगायतका दर्जनौं व्यक्तित्वहरू रहेका थिए ।
महोत्सवमा थारु फिल्म प्रदर्शन, विभिन्न सांस्कृतिक गतिविधिहरू, थारु नृत्य प्रतियोगिता, झाँकी प्रदर्शन र विशिष्ट व्यक्तित्वहरूको सम्मान लगायतका कार्यक्रमहरू समावेश गरिएका थिए । पहिलो दिन १३ वटा झाँकी प्रदर्शन गरिएकोमा जब्दी टोल विकास, रामधुनी १ ले उत्कृष्ट झाँकी प्रदर्शन गरी ५ हजार नगद पुरस्कारसहित सम्मानित भयो । सो नगद पुरस्कार महोत्सवको दोश्रो दिन प्रदान गरिएको थियो । यस्तै नृत्य प्रतियोगितामा १० वटा समूहले प्रतिस्पर्धा गरेका थिए । निर्णायकहरूको छनौटका आधारमा रियालिटी क्रुले १० हजार नगद पुरस्कारसहित प्रथम स्थान हासिल ग¥यो ।
यस्तै भर्सटायल डान्स ग्रुपले ७ हजार नगद पुरस्कारसहित दोस्रो र एस डी क्रिएशनले ५ हजार नगद पुरस्कारसहित तेस्रो स्थान हासिल गरे । यी विजेताहरूको घोषणा तथा पुरस्कार वितरण महोत्सवको दोस्रो दिन म्याजिक सिनेमा हलमा गरिएको थियो । महोत्सवको दोस्रो दिनको प्रमुख अतिथि था.क.स.का पूर्व केन्द्रीय अध्यक्ष चन्द्र कुमार चौधरी रहेका थिए ।
थारु समुदायका नयाँ कलाकारहरूले आकर्षक नृत्य प्रस्तुत गरेका थिए । महोत्सवमा सुनसरी, मोरङ, सप्तरी, उदयपुर लगायतका जिल्लाबाट कलाकार, निर्माता, निर्देशक, वितरक, चलचित्रकर्मी तथा विभिन्न राजनीतिक दलका नेताहरूको व्यापक सहभागिता रहेको थियो । यस महोत्सवलाई नेपाल चलचित्र विकास बोर्डले सहकार्य गरेको थियो । चौथो राष्ट्रिय थारु चलचित्र तथा सांस्कृतिक महोत्सवले थारु समुदायको कला, संस्कृति र मौलिकतालाई राष्ट्रियस्तरमा प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।