कप्सको ट्रेलरमा एक्सन नै एक्सन


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ बैशाख,

नेपाली चलचित्र ’कप्स’ को अफिसियल ट्रेलर आईतबार सार्वजनिक गरिएको छ । आगामी १७ जेठबाट देशव्यापी सिनेमा हलमा रिलिज हुने यो चलचित्रको अफिसियल ट्रेलर हेर्दा यो फिल्म एक्सन प्रधान जनरामा केन्द्रित देखिन्छ । सत्य सेवा सुरक्षणम् नारा बोकेको यो फिल्ममा अपहरणकारी, भ्रस्टाचारी, गुन्डागर्दी बिरुद्ध अनुपलाई उतारिएको ट्रेलरले जनाएको छ ।

निर्माण टिमले ओएसआर डिजिटल युटुब च्यानल मार्फत कप्सको ट्रेलर रिलिज गरेको हो । एक्शन तथा लभस्टोरी कथा मिश्रित ट्रेलरमा अनुप बिक्रम शाही प्रहरी नायब उपरिक्षकको भूमिकामा देखिएका छन् । यस चलचित्रमा अभिनेता शाहीले डीएसपी अमन सिंहको भूमिका निर्वाह गरेका छन् । अनुप प्राय खल पात्रको भूमिकामा देखिँदै आएका थिए भने यस चलचित्रमा भने एक सच्चा प्रहरी अफिसरको रुपमा छन् ।

अग्रज कलाकार सम्राट सापकोटाले निर्देशन गरेका हुन् । उनको यो डेब्यु निर्देशन फिल्म हो । तीन दशक लामो फिल्मी यात्राको अनुभव समेटेर उनले निर्देशनमा हात हालेका हुन् ।

अनुपसँगै यो फिल्ममा सन्दिपा लिम्बु, अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापा, अनुपमा भण्डारी, रोशन सुवेदी लगायतका कलाकारको अभिनय रहेको छ ।

यो चलचित्रलाई राम शाक्यले निर्माण गरेका हुन् । सुसन प्रजापतिको छायाँकन, बिजय घिमिरेको संगीत, कविराज गहतराजको नृत्य, बिपिन मल्लको सम्पादन रहेको कप्समा निर्देशक साम्राट सापकोटाकै लेखन रहेको छ । फिल्म आर्या मुभिज र सारा श्री मुभिजको संयुक्त व्यानरमा निर्माण भएको हो ।