दर्शक तर्साउन चलचित्र ’कठपुतली’को फस्ट लुक


ब्युटी न्युज नेपाल
काठमाडौं, ११ बैशाख

नेपालमा पनि भूत प्रेतको कथामा आधारित (हरर) जनराको फिल्म पछिल्लो समय निर्माणको क्रम बढेको छ । यसै क्रममा नेपाली हरर चलचित्र ‘कठपुतली’ निर्माण भएको छ । यो फिल्मको फस्र्ट लुक्स् (पोस्टर) मँगलबार रिलिज गरिएको छ । रिलीज मिति तय नभएता पनि चलचित्रको विषयबस्तुमा आधारित रहि तयार पारिएको पोस्टर रिलीज गरिएको निर्माण पक्षले जनाएको छ ।

कुनै कालखण्डमा एक राज्यमा शासन गर्ने राजाको दरबार भित्रको सेरोफेरोमा आधारित कठपुतलीको कथा पूर्ण काल्पनिक रहेको चलचित्रको लेखक तथा निर्माता सम्पदा मल्लको भनाई छ ।

देशका प्रजा परिश्रमी तर शासक भने ऐश, आराम र मोजमस्तीको जीवन बिताउने क्रममा दिनदहाडै निर्दोष चेलिको बलात्कार र हत्या हुने घटनाबाट आजित महिलाहरुले मृत्युपरान्त लिने बदलाको कथा नै कठपुतलीको रहेको पनि मल्लले बताईन् ।

फिल्मलाई पृथ्वी राना मगरले बनाएका हुन् । यसअघि दुई चलचित्रहरु ’परेनी माया जालैमा’ र ’हंगामा’ निर्माण तथा निर्देशन गरेका राना मगरले अलग बिषयमा व्यावसायिक चलचित्र बनाउने सोच अनुसार कठपुतली बनाएको बताए । कठपुतलीमा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा मास्के, उषा रजक, सुबर्ण थापालगायतका कलाकारहरुको मुख्य भूमिका छ ।

यो चलचित्रलाई भिमसेन लामाले निर्देशन गरेका हुन्,‘यो चलचित्र हेर्दा नेपाली दर्शकले एकदमै नयाँ अनुभव गर्नेछन्’, निर्देशक लामाले भनेन,‘हरर चलचित्र मेरो रोजाईको बिषय हो, मेरो लागि यो चलचित्र एउटा ड्रिम प्रोजेक्ट हो’ ।