ब्युटी न्युज नेपाल

काठमाडौं, १ चैत

यो वर्षको हलिउडको ससक्त फिल्म एभिएन्जर्स–४ इन्डगेम १३ बैशाखमा रिलिज हुने भएपछि चलचित्र दाल भात तरकारीको रिलिज मिति १३ बैशाखबाट २० बैशाखमा सारिएको छ ।

बलिउड र हलिउडका राम्रा चलचित्र नेपालमा रिलिज हुँदा नेपाली फिल्मलाई हल नदिईने र व्यापारमा प्रभाव पर्ने समस्या बिगत देखिकै छ । यही समस्याको शिकार हुने भएपछि चलचित्र ‘दाल भात तरकारी’को प्रदर्शन मिति एकाएक सारिएको हो ।

मह जोडी, किरण केसीले निर्माण गरेको चलचित्र दाल भात तरकारीको रिलिज मिति आउँदो १३ बैशाख भनेर फिल्म मुहुर्तको समयमै तोकिएको थियो । निर्माण पक्षले १३ बैशाखमै यो फिल्म हलमा ल्याउने भनेर व्यापक प्रचार पनि गरिरहेको थियो ।

तर हलिउडको यो वर्षकै सबै भन्दा बढी प्रतिक्षा गरिएको मध्यको फिल्म ‘एभिएन्जर्स–४, इन्डगेम’ सोही मितिमा नेपालमा पनि रिलिज हुने भएपछि चलचित्र दाल भात तरकारीको रिलिज मिति सार्न निर्माणपक्ष बाध्य भएको छ ।

हुन त दाल भात तरकारीको निर्माण पक्षले चलचित्रको निर्माण सम्पन्न हुन नसक्ने अबस्था आएकोले पनि आफ्नो चलचित्रको रिलिज मिति १३ बैशाखबाट २० बैशाख पुर्याएको बताएको छ । तर चलचित्र सर्नुको मुख्य कारण एभिएन्जर्स–४ नै हो ।

मार्वल स्टुडियो अमेरिकाको सुपर फिक्सन सिरिजका सबैजसो स्टारहरुको सँयुक्त सँगालोको रुपमा परिचित एभिन्जर्सको यो चौथो सृँखला अहिलेसम्मकै पछिल्ला सृँखला भन्दा प्रभावशाही बनेको विश्वास छ । निर्देशकद्धय एन्थोनी रुसो र जोई रुसोका अनुसारयो फिल्म २४ अप्रिल २०१९ अर्थात ११ बैशाखमा अमेरिकामा प्रिमियरसँगै २६ अप्रिलबाट विश्वव्यापी रिलिज हुँदैछ ।

नेपालका सिनेमा हलमा पनि एभिएन्जर–४ लाई १३ बैशाखबाट रिलिज गरिँदैछ ।  एभिएन्जर्स–४ वितरक र हल सञ्चालकले पनि दाल भात तरकारीलाई यही फिल्मका कारण धेरै हल दिन नसक्ने भन्दै फिल्म सार्न अनुरोध गरेका थिए । यसरी एभिएन्जर्स–४ ले नेपाली चलचित्र दाल भात तरकारीको व्यापारमा ठुलो प्रभाव पार्ने भएपछि १३ बैशाखबाट सारेर दाल भात तरकारीको रिलिज मिति २० बैशाख पुर्याईएको हो ।

सुदन केसीले निर्देशन गरेको दल भार तरकारीमा मदनकृष्ण श्रेष्ठ, हरिबँश आचार्य, निरुता सिंह, पुष्पल खड्का, वर्षा राउत,  शिबहरि पौडेल, जितु नेपाल, किरण केसी, आँचल शर्मा, जयनन्द चन्द लामासहितको मुख्य भूमिका छ ।