उपराष्ट्रपति पुनलाई मन पर्यो क्याप्टेन


ब्युटी न्युज नेपाल
काठमाडौं २८ फागुन

उपराष्ट्रपति नन्द बहादुर पुनले सोमबार राजधानीमा बिग मुभिजमा चलचित्र ‘क्याप्टेन’ हेरेका छन् । उपराष्ट्रपति पुनले क्याप्टेन हेरेपछि यो चलचित्रले उठान गरेको विषयवस्तु राम्रो भएको बताए ।

‘मैले सिनेमा हेरें । यो हाम्रो कथा हो । त्यसैले मलाई सिनेमा निकै मन पर्यो ।’ उपराष्ट्रपति पुनले भने ‘सिनेमाले सम्पुर्ण नेपालीलाई एकतामा बाध्ने प्रयास पनि गरेको छ । खेलमा रुची राख्नेका लागि सिनेमा झन् विशेष छ ।’

उपराष्ट्रपति पुनले भुवन केसी, शिव श्रेष्ठ, राजेश हमालको सिनेमा पहिला देखि नै हेर्दा आएको र आफ्नो लागि तिनै जना सुपरस्टार रहेको समेत बताए ।

‘क्याप्टेन’को सोमबार विशेष शोको आयोजना गरिएको थियो । बिशेष शोमा क्याप्टेन हेर्न पुगेका अभिनेता शिव श्रेष्ठले पनि क्याप्टेन राम्रो बनेको भन्दै अनमोल केसी र भुवन केसीको मेहनतको प्रसंसा गरे,‘सिनेमा राम्रो बनेको छ । फुटबलको माध्यमबाट खेलाडीको कथा भनिएको छ ।’ उनले मिडियालाई प्रतिक्रिया दिदै भने ‘सिनेमाले राष्ट्रियता र फुटवलसंग हामीलाई जोड्छ ।’

अनमोल केसी अभिनित यो चलचित्र अहिले दोस्रो सातामा प्रदर्शन भईरहेको छ । सिनेमा फुटवल खेलको बिषयबस्तुमा निर्माण गरिएको हो । यो चलचित्रलाई भुवन केसीले निर्माण गरेका हुन् ।