ब्युटी न्युज नेपाल
काठमाडौं, ७ माघ

अग्रज कलाकार एवम् चरित्र अभिनेता गणेश न्यौपाने ‘मुनाल’को निधन भएको छ । कलाकार एवम् अभिनेता गणेश न्यौपाने मुनालको ६९ वर्षको उमेरमा सोमबार बिहान करिब साँर्ढ आठ बजे निधन भएको हो ।

दम र निमोनियाँले दुख दिएपछि दुई दिन अघिमात्र काठमाडौंको चावहिल स्थित मेडिकेयर अस्पतालमा उपचार गराएर घर फर्किएका मुनालको यही समस्याबाट चावहिल महाँकाल घरमा निधन भयो ।

उनको सोमबार दिउँसो काठमाडौंको पशुपति आर्यघाटमा दाहसंस्कार सम्पन्न भयो । उनलाई श्रद्धाञ्जली दिन विभिन्न चलचित्रकर्मीहरु सोमबार मध्यान्न आर्यघाट पुगेका थिए । उनको परिवारमा श्रीमती, दुई छोरा, एक छोरी छन् ।

चलचित्रमा अभिनय गर्नु अघि मुनाल कुशल चित्रकारका रुपमा परिचित थिए । तीन दशकदेखि उनी सानो पर्दा, रँगमञ्च र ठुलो पर्दाको अभिनयमा सक्रिय थिए ।

कलाकार मुनालले प्रेमयुद्ध, दिदी बहिनी, मिस्टर डन, सेतो बाघ, लभ लभ लभ, घामपानी सहित करिब तीन दर्जन चलचित्रमा चरित्र अभिनेताको भूमिका निर्वाह गरेका थिए ।

त्यसो त उनी सानोपर्दामा पनि त्यत्तिकै चर्चित थिए । ‘तितो सत्य’ लगायत दर्जनौं टेलिसिरियलमा उनले अभिनय गरेका थिए । मुनाल अभिनित पछिल्लो चलचित्र ‘गोपी’ प्रदर्शनको तयारीमा छ ।