मारुनी बन्दै साम्राज्ञी, पुष्प र रेबिका


ब्युटी न्युज नेपाल
काठमाडौं २६ मंसिर
अभिनेता पुष्प खड्का, अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र रेबिका गुरुङलाई सिनेमाको पर्दामा चाँडै मारुनी बनेर नाचेको देख्न पाईने भएको छ । माघबाट छायांकान सुरु हुने नयाँ फिल्म मारुनीमा यी कलाकार मारुनी बनेर देखिँदैछन् ।

यी कलाकारलाई जयन सुब्बा मानन्धरकाे काेिरयाेग्राफीमा र्याम्पमा हिडाउँदै काठमाडौंमा ‘मारुनी’को निर्माण घोषणा गरिएको छ । पुष्प खड्का, साम्राज्ञीराज्य लक्ष्मी शाह र रेबिका गुरुङले मंगलबार र्याम्पमा हिँड्दै फिल्मको औपचारिक घोषणा गरेका थिए । फिल्मका बाँकी कलाकार तथा प्राविधकले पनि ¥याम्पमै क्याटवाक गर्दै आफ्नो परिचय दिएका थिए ।

अन्तर्राष्ट्रिय फेसन डिजाइनरको पहिचान बनाएकी पुनम गौतमले निर्माण गर्न लागेको फिल्मलाई नवल नेपालले निर्देशन गर्नेछन् । निर्माता गौतमले लेखकसमेत रहेका नेपालले सुनाएको कथाले मन छोएपछि ५ वर्षपछि निर्माणमा फर्किएको बताइन् ।

‘लगभग तीन वर्षदेखि राम्रो कथाको खोजीमा थिएँ । नवल सरले यो कथा लिएर आएपछि आफूले खोजिरहेको कथा यही हो जस्तो लाग्यो,’गौतमले भनिन्, ‘ त्यसयता काम गर्दै जाँदा अन्ततः हामी यो अवस्थामा आइपुगेका छौं । एक महिनापछि हामी फ्लोरमा जाँदैछौं ।’

घोषणा कार्यक्रममा बोल्दै निर्देशक नवल नेपालले फिल्मले दुई सुन्दरीको कथा प्रस्तुत गर्ने बताए । कवितात्मक शैलीमा बोलेका निर्देशक नेपालले फिल्म राम्रो बन्नलाई कथा नै राम्रो हुनुपर्ने र मारुनीको कथा सशक्त रहेको दाबी गरे ।

अभिनेत्री साम्राज्ञीले पनि फिल्मलाई लिएर उत्साहित भएको प्रतिक्रिया दिएकी थिइन् । उनको भनाइ थियो, ‘यो फिल्मको कथा साँच्चिकै युनिक छ । फिल्मको कथा नै थियो जसले मलाई यो फिल्म गर्न बाध्य बनायो । यो फिल्मलाई लिएर एकदमै उत्साहित छु ।’

फिल्ममा सबैभन्दा पहिले अनुबन्ध भएका पुष्पले यही फिल्मका लागि लामो समयदेखि मेहनत गरिरहेको बताए ।

बिकाको भने यो डेब्यु फिल्म हो । फिल्ममा सुनिशा क्षेत्री, अरुण राज, आयुष प्रधान, शंखर सेढाइलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । सायरा आचार्य, आभाष सिंह, स्वर्णिम पौडेल र सौर्य अधिकारी बाल कलाकारको रुपमा रहेका छन् ।

पुनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा निर्माता पुनमलाई अजय पोखरेल र राजा प्रधानले लगानीमा सघाउने छन् । हरि सिलवाल फिल्मको लाइन प्रोड्युसरको रुपमा रहेका छन् । सञ्जय लामाको छायांकन रहने फिल्ममा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहेको छ ।

तस्बिर सौजन्य ः विनोद पोखरेल