तेस्रो ग्लोबल नेपाली फिल्म अवार्ड पनि अमेरिकामै


ब्युटी न्युज नेपाल
काठमाडौँ, १० मंसिर

यस अघि दोस्रो संस्करणसम्म आयोजना हुँदै आएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’को तेस्रो संस्करण पनि अमेरिकामा हुने भएको छ । यो अवार्ड अष्ट्रेलियामा हुने भनिए पनि अमेरिकाबासी सिनेप्रेमीहरुको चाहना अनुसार अमेरिकामै तेस्रो पनि आयोजना गर्न लागिएको आयोजक पक्षले जनाएको छ ।

संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्य स्थित डेनभर शहरमा आगामी ५ जनवरी २०१९ मा यो अवार्ड आयोजना गरिने अवार्डका अध्यक्ष एवम् कलाकार नवराज श्रेष्ठले जानकारी गराएका छन् ।

लामो समयदेखि अमेरिकामा बस्दै आएका कलाकार श्रेष्ठले नेपाली चलचित्रको विकाश, विस्तार र प्रोत्साहनका लागि तीन वर्ष अघिबाट यो अवार्ड सुरु गरेका हुन् ।

‘नेपाली चलचित्रकर्मीहरुलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ग्लोबल नेपाली फिल्म अवार्ड गर्दै आएका हौं ।’ आयोजक श्रेष्ठले भने,‘ विगत २ वर्षमा दुई संस्करण संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यको डेनभर शहरमानै सफलता पूर्वक सम्पन्न यो अवार्डलाई नेपाली सिनेमा भिलेज टु ग्लोब नारा सहित आयोजना गर्दै आएका छौं ।’

नेपाली फिल्म अवार्डको नेपाल आयोजक तथा नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले नेपाली चलचित्रकर्मीहरुलाई सम्मान, पुरस्कार र प्रोत्साहनका साथै नेपाली सिनेमाको बजार प्रवद्र्धन, कलाकार पुनर्मिलन र चलचित्र पर्यटन अवार्डका उद्देश्य रहेको ग्लोबल नेपाली फिल्म अवार्ड आयोजना गरिएको बताएका छन् । अध्यक्ष मल्लका अनुसार पछिल्लो एक वर्षमा नेपालमा रिलिज भएका नेपाली चलचित्रका विभिन्न विधाका उत्कृष्टलाई यो अवार्ड प्रदान गरिँदैछ ।