गायनमा दीप श्रेष्ठको ५० वर्ष, हङकङमा एकल साँझ


ब्युटी न्युज नेपाल
काठमाडौं, २९ कात्तिक

अग्रज गायक दीप श्रेष्ठको हङकङमा एकल स्वर्णिम साँझ हुने भएको छ । नेपाली संगीत क्षेत्रका पाँच दशकदेखि क्रियाशिल गायक श्रेष्ठले संगीत क्षेत्रमा लागेको पचास बर्ष पुगेको उपलक्ष्यमा नेपाल क्लब हङकङले ‘दीप श्रेष्ठ स्वर्णिम साँझ–२०१८’ आयोजना गर्न लागेको हो ।

आगामी ३० डिसेम्बरमा हङकङको यामुताइ कम्युनिटी हलमा उनको एकल साँझ आयोजना गरिँदैछ । बुधबार हङकङ स्थित हङकङ नेपाली महासंघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेपाल क्लब, हङकङकी अध्यक्ष रिता गुरुङले एकल साँझबारे जानकारी गराईन् ।

गायक दीप श्रेष्ठ आफ्नो सांगीतिक समूह सहित आफ्ना नया तथा पुराना गीतहरु गाएर आफ्नो ५० औं सांगीतिक उत्सव हङकङबासी नेपालीहरुमाझ प्रस्तुत गर्ने बताएका छन् । मत दुर देखि…, बिधुवाको सिउँदो…, हर रात सपनीमा…, मेरो आँखामा…, बितेका कुराले…, कति कम्जोर रहेछ भाग्य…, झिरमा उनिनु…, भन्थिन मेरी उनि…, साइँलीबारी चिया बारीमा…, हुँ यात्री म एउटा… लगायतका थुप्रै कालजयी गीतहरु उनले गाईसकेका छन् । यिनै चर्चित गीत उनले एकल साँझमा सुनाउने छन् ।

पूर्वी नेपालको धरानका स्थायी बासिन्दा दीप श्रेष्ठले १४ बर्षको उमेर देखि नै पूर्वमा हुने बिभिन्न सांस्कृतिक तथा सांगीतिक कार्यक्रममा भाग लीइरहन्थे । यसै कर्ममा २०२५ साल पुष महिनामा सांस्कृतिक कार्यकर्म लिएर धरानबाट काठमाडौँ आएका दीप श्रेष्ठले राष्ट्रिय नाचघरमा तत्कालिन राजा महेन्द्रको सामु गीत गाउने अवसर पाएका थिए । उनको गायन कलाबाट मोहित राजा महेन्द्रले तत्कालै आफुले मन लागेजति गीत रेडियो नेपालमा रेकर्ड गर्ने व्यवस्था गरिदिए ।

त्यो समयमा रेडियो नेपालमा पालो कुर्नु पर्ने समयमा उनले म पत्थरको देउता होइन… लगायत ६ वटा गीतहरु रेकर्ड गराए । जुन निकै लोकप्रिय भए । त्यसपछि पछाडी फर्कनु नपरेको बरिष्ठ गायक श्रेष्ठले २०७५ सालमा आफ्नो सांगीतिक आरोह अवरोहलाई निरन्तरता दिँदै गायन यात्राको पाँच दशक पुरा गरेका छन् ।