चेपुवामा रेखाको मालिका


व्युटी न्युज नेपाल
काठमाडौ १२ कात्तिक

अभिनेत्री रेखा थापा यतीबेला चेपुवामा परेकी छिन् । प्रदर्शनीको हिसावले उनको फिल्म ‘मालिका’ यस पटक सफल फिल्महरुको चेपुवामा परेको छ ।

१६ कात्तिकबाट आउने चलचित्र ‘मालिका’मा रेखा आफैं निर्माता निर्देशक र नायिकाको रुपमा छिन् । विभिन्न गैर सरकारी संस्थाले मुद्धा बनाउँदै आएको बाल विवाह बिरुद्धको आवाज यो फिल्मबाट उनले उठाएकी छिन् । विषय सन्दर्भिक भए पनि प्रदर्शनीको हिसावले मालिका चेपुवामा परेको छ ।

घटस्थापनाबाट रिलिज भएको दीपाश्री निरौलाको फिल्म ‘छक्का पञ्जा–३’ अझै राम्रो व्यापारका साथ बहुसँख्यक सिनेमा हलमा प्रदर्शन भईरहेको छ । यो फिल्म शुक्रबारदेखि चौथा सातामा मुलुकका ८० भन्दा बढी सिनेमा हलमा प्रदर्शनी हुने देखिन्छ ।

यस्तै गएको फुलपातीबाट रिलिज भएको अशोक शर्माको चलचित्र ‘जय भोले’को व्यापार पनि अझै राम्रो भईरहेको छ । यो फिल्म पनि तिहारसम्म मुलुकका करिब पाँच दर्जन सिनेमा हलमा रहने देखिन्छ ।
१६ कात्तिक शुक्रबारबाटै माधव वाग्ले निर्मित एवम् दीपेन्द्र के खनाल निर्देशित अर्को मल्टी स्टार फिल्म ‘चँगा चेट’ मुलुकका करिब एक सय पर्दामा रिलिज हुँदैछ । अहिले काठमाडौंका बहुसँख्यक मल्टिप्लेक्समा पनि चँगा चेटले राम्रो शो पाएको छ ।

बिषय ससक्त भए पनि आफु बाहेक अरु चर्चित अनुहार मालिकामा नहुनु र दशैंमा रिलिज भएका फिल्महरुले अझै निरन्तर राम्रो बजार लिनुले पनि अभिनेत्री रेखाको फिल्म मालिका चेपुवामा परेको हो ।
यता बलिउडको ससक्त फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ले तिहारबाट बहुसँख्यक सिनेमा हल कब्जा गर्ने छ । यही कारण पनि हिन्दी र नेपाली दुबै फिल्मले रेखाको मालिकालाई चेपुवामा पारेको हो ।