कलाकार संघका अध्यक्ष बोगटीको निधन


व्युटी न्युज नेपाल
काठमाडौं, २३ असोज

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष एवम् अग्रज कलाकार रामकेशर बोगटी अब हामीमाझ रहेनन् । उनको मँगलबार बिहान दुःखद निधन भएको छ ।

आफ्नो घरबाट मँगलबार बिहान निक्लेर कार्यालय जाने क्रममा टिकाथलीमा काट्दै गरेको रुखसँगै ढलेको बिजुलीको पोलले थिचेर उनको निधन भएको हो ।

रुख काट्दै गरेको ठाउँमा बाटो अबरोध हुन लाग्दा बाटोमै कार रोकेर कारबाट निक्लने क्रममा उनलाई ढलेको रुखले ठक्कर दिएर लडेको बिजुलीको पोलले लाग्यो । उनको टाउको र पेटमा चोट लागेको थियो ।

तत्कालै उपचारका लागि बि एन्ड बी अस्पताल लगिए पनि उनीलाई बचाउन सकिएन । अहिले उनको पार्थिव शरीरको पाटन अस्पताल ललितपुरमा पोष्ट मार्टमको तयारी भईरहेको छ ।

५८ वर्षीय बोगटी कलाकार संघको महासचिव हुँदै वर्तमान अध्यक्ष थिए । दुई दर्जन भन्दा बढी टेली चलचित्र र दर्जन चलचित्रमा अभिनय गरेका बोगटीले स्वाभिमान र मायाँ गर ल सहित दुई ओटा चलचित्र निर्माण गरेका थिए ।