आयो छक्का पञ्जा ३ को दशैं गीत


व्युटी न्युज नेपाल
काठमाडौं, १६ असोज

चलचित्र ‘छक्का पञ्जा ३’ ले दसैँ गीत (जिङ्गल ) तयार गरेर स्रोतामाझ ल्याएको छ । निर्माण युनिटले फिल्मको हिट गीत ‘पहिलो नम्बरमा…’ कै संगीतमा दसैँ गीत (जिङ्गल ) तयार पारेको हो ।

घटस्थापनामा रिलिज हुने यो चलचित्रको प्रचार गीतको रुपमा तयार भएको यसको लम्बाई १ मिनेटको रहेको छ । निर्माण पक्षले ‘फनफनी घुमेको रोटे पिङ्ग, छक्का पञ्जा ३ घटस्थापना कै दिन…’ बोल राखेर प्रमोसनल गीत (जिङ्गल ) तयार पारेको हो ।

जसमा डेविड शंकरको स्वर रहेको छ भने दीपाश्री निरौला, केदार घिमिरे, दीपकराज गिरी र जितु नेपालले र्याप हानेका छन् । भिडियोमा दसैँको माहौलसँगै दीपाश्री, दीपक, जितु र केदार र्याप हान्दै गरेको देखिनेछन् ।

यसमा दीपकराज गिरी, दीपिका प्रसाई, जितु नेपाल, केदार घिमिरे, संजोग कोइराला, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ । फिल्ममा शिशिर राणा, शिशिर वाग्देल, लक्ष्मी गिरी, शारदा गिरी, बसन्त भट्ट लगायतको पनि अभिनय रहेको छ ।

फिल्मकी निर्देशक दीपाश्री हुन् भने यसमा कार्यकारी निर्माताको रुपमा जितु नेपाल र केदार घिमिरे छन् । सुमन गिरी ‘भान्जा’ र तारा चन्द्र बजगाई ‘निशान’ पनि निर्माताको रुपमा रहेका छन् ।