दुई दशकदेखि ब्युटिसियन पेसामा मञ्जुको निरन्तर


व्युटी न्युज नेपाल

काठमाडौं २४ भाद्र

मञ्जु सापकोटा दुलाल दुई दशकदेखि ब्युटिसियन पेसामा निरन्तर लागिरहेकी छन् । ‘कला हर्बल ब्युटी होम’ सञ्चालन गर्दै आएकी मञ्जुकै प्रयासमा २०५६ सालमा ‘नेपाल ब्युटिपार्लर संघ’ स्थापना भएको थियो । मोरङको विराटनगरमा जन्मिएकी उनी सौन्दर्य व्यवसायबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने लागेरै यसलाई पेसा बनाएको बताउँछिन् ।

विगतमा ब्युटीपार्लर व्यवसायमा लाग्ने महिलाहरूबीच एकता थिएन । यसबीचमा उनकै प्रयासमा चर्चित ब्युटिसियन कमला श्रेष्ठलगायतसँगको लामो छलफलपछि देशभर छरिएर रहेका सौन्दर्य व्यवसायीलाई एकत्रित गरी ०६४ सालमा ‘सौन्दर्य कला व्यवसायी संघ’ स्थापना भएको थियो । उनी संघको संस्थापक महासचिव हुन् । सौन्दर्य कला व्यवसायी संघ स्थापना भएपछि मात्र ब्युटिसियन पेसाले सम्मान पाएको उनले सुनाइन् । ‘सुरु–सुरुमा ब्युटिसियन पेसालाई सम्मानित पेसाको रूपमा लिइन्नथ्यो, जब सौन्दर्य कला व्यवसायी संघ स्थापना ग¥यौँ, तब यसलाई सम्मानित पेसाका रूपमा लिइन थालेको हो,’ मञ्जुले भनिन् ।

आफूमा रहेको ज्ञान र सीप आफूमा मात्र सीमित नराखी अरूलाई पनि दक्ष बनाउने उद्देश्यले मञ्जुले नेपालमै पहिलोपल्ट ‘ग्ल्यामर ब्युटी स्कुल’ स्थापना गरेकी थिइन् । सो स्कुलमा थाइल्यान्ड ग्ल्यामर स्कुलबाट तालिमप्राप्त शिक्षक ल्याएर थ्रिडी टेक्नोलोजीमार्फत विद्यार्थीलाई सौन्दर्य प्रशिक्षण दिइएको उनी बताउँछिन् । सन् २०१३ मा थाइल्यान्ड ग्ल्यामर स्कुलको प्रिन्सिपललाई आमन्त्रण गरी ‘हेयर डे«सर सो’ प्रतियोगिता सम्पन्न गरेको उनले जानकारी दिइन् ।

यो व्यवसायलाई आकर्षक बनाउन दक्ष र सीपमूलक तालिम तथा प्रशिक्षण आवश्यक रहेको उनको भनाइ छ । विराटनगरको जनता नमुना माविबाट विद्यालय शिक्षा पूरा गरेकी मञ्जुले उच्च शिक्षा भने काठमाडौंको बागबजारस्थित पद्मकन्या क्याम्पसबाट लिएकी हुन् । कलेज पढ्दैदेखि ब्युटिसियन पेसामा लागेको उनले बताइन् । ०५८÷०५९ सालदेखि विभिन्न टेलिफिल्म तथा चलचित्रमा उनले कलाकारको हेयर डे«सर गरेकी थिइन्् । त्यसवेला राजधानीमा हुने फेसन सो तथा मोडलिङ कार्यक्रममा सहभागी मोडलहरूको हेयर ड्रेसरको भूमिका उनले निभाएकी थिइन् ।

मानिसको शरीरका अंगहरू निकै संवेदनशील हुने भएकाले के–कस्ता केमिकल कस्मेटिक्स र हेयर कस्मेटिक्स प्रयोग गर्ने भन्ने विषयमा दक्षता हासिल गरेका सौन्दर्यशास्त्रीबाट मात्र सम्भव हुने उनको भनाइ छ । सोही कारण ब्युटिसियन पेसामा आउनुभन्दा अघि प्रशिक्षण लिनुपर्ने सुझाब दिन्छिन् । यतिवेला सौन्दर्य व्यवसायमा लाग्ने महिला, पुरुष सबैले राम्रो आयआर्जन गर्ने गरेको मञ्जुको भनाइ छ ।