जय भोलेको ट्रेलरमा खगेन्द्र कमेडी हिरो


व्युटी न्युज नेपाल
काठमाडौं, २१ भाद्र

अभिनेता खगेन्द्र लामिछाने यसपटक चलचित्र जय भोलेमा हास्यप्रधान रूपमा प्रस्तुत भएका छन् । विगतमा टकल जँग भर्सेज टुल्के, पशुपति प्रसाद, धनपति, डमरुको डंडीबियो जस्ता फिल्ममा उनी गम्भीर भूमिकामा थिए ।

आगामी दसैंमा रिलिज गरिने यस चलचित्र हास्य प्रधान बनेको छ । बिहीबार काठमाडौंमा जय भोलेको ट्रेलर रिलिज गरियो । विगतको भन्दा यसपटक खगेन्द्रलाई यो पृथक भूमिकामा उतारेको यसका निर्देशक एवं निर्माता अशोक शर्माले बताएका छन् ।

यो चलचित्र त्रिकोणात्मक प्रेम कथामा आधारित छ । जसमा अभिनेत्री स्वस्तिमाको पछाडि तीन अभिनेता खगेन्द्र लामिछाने, सौगात मल्ल र सलोन बस्नेत लागेको दृश्य ट्रेलरमा देखियो ।

आफ्नो चलचित्र दसैंलाई लक्षित गरेर घटस्थापना या फूलपातीको दिन रिलिज गर्ने यसका निर्देशक शर्माले बताए । आफ्नो चलचित्र छक्का पञ्जा–३ सँग जुध्ने र दुवै चलचित्र राम्रो चल्ने प्रतिक्रिया दिन उनी पछि परेनन् । छक्का पञ्जा ३ सँग आफ्नै कुनै पनि दुश्मनी नभएको उनले बताए ।

एक दशकपछि निर्माणमा फर्किएका शर्माले दसैंमै चलचित्र ल्याउने तयारीका साथ निर्माण गरेकाले अरू चलचित्र आए पनि आफू पछि नहट्ने बताए । यो चलचित्रका बाँकी सलोन बस्नेत, सौगात मल्लले पनि चलचित्रमा आफुहरुको निकै रमाईलो भूमिका भएको जिकिर गरे ।

यस्तै राजाराम पौडेल, किशोर भण्डारी, लक्ष्मी गिरी, बसुन्धरा भुसाल, जयनन्द चन्दलगायतले पनि आफ्नो भूमिकाबारे कार्यक्रममा प्रकाश पारे ।

छायाँकनका कारण अभिनेत्री स्वस्तिमासँगै बुद्धि तामाङ प्रेसमिटमा आएनन् । यो चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेको हुन् ।