पर्दामा दाल भात तरकारी पकाउँदै महजोडी र किरण केसी


व्युटी न्युज नेपाल
काठमाडौं, ३० साउन

हास्यअभिनेताहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसीले गतवर्ष चलचित्र ’शत्रु गते’ हिट भएपछि नयाँ हास्यप्रधान चलचित्र ‘दाल भात तरकारी’ निर्माण गर्ने भएका छन् । यो चलचित्रको बुधबार काठमाडौंमा एक समाराेहबीच निर्माण घोषणा गरियो ।

मह सञ्चारको ब्यानरमा किरण केसी प्रस्तुतकर्ता रहने फिल्मको निर्माता केसीकै पुत्र सुदन केसीले निर्देशन गर्नेछन् ।

यसअघि उनले दुई हलिउड फिल्म रिमेम्बर मि र माई लभमा सह निर्देशकको रुपमा काम गरिसकेका छन् । उनले, टिमकै अघिल्लो फिल्म ’शत्रु गते’ मा पनि सहायक निर्देशकको रुपमा काम गरेका थिए ।

यसमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्पल खड्का, स्वस्तिमा खड्का, वर्षा राउत, बसुन्धारा भुषाल, राजाराम पौडेल, शिशिर बाङ्ग्देल, जयनन्द लामालगायतका कलाकारहरुको अभिनय रहनेछ ।विल्सन विक्रम राई, राजाराम पौडेल, यमन श्रेष्ठ, शिवहरी पौडेल, किरण केसीलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय रहने बताइएको छ ।

मंसिर पहिलो साताबाट फिल्मको छायाँकन  सुरु हुँदैछ । वर्ष २०७६ साल १३ बैशाखमा प्रदर्शन मिति तोकिएको घोषणा सो कार्यक्रममा गरियो । फिल्मले हरेक मानिसले दाल भात तरकारी खानका लागि गर्ने संघर्षको कथा बोल्ने कार्यक्रममा जानकारी गराईयो । फिल्मको कथा, पटकथा, सम्बाद र गीत हरिवंश आचार्यले लेखेका हुन् ।

जसमा बरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटाको संगीत रहने छ । फिल्मका गीत हरिवंश आफैंले लेखेका छन् । फिल्ममा पुष्पलको जोडी स्वस्तिमासँग बाँधिएको छ भने हरिवंश र निरुतालाई जोडीको रुपमा देख्न सकिनेछ । मित्र डि गुरुङको सम्पादन रहने फिल्मलाई दिर्घ गुरुङले खिच्नेछन् । कविराज गहतराजको कोरियोग्राफी रहने ‘दाल भात तरकारी’ मा रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंशाकार, शिवहरी पौडेल, राजाराम पौडेल, दिर्घ गुरुङ, अनुराग कुँवर, विल्सन विक्रम राई, दीपेन्द्र खनियाँ र सुमित मैनाली निर्मातामा रहेका छन् ।

नेपालीहरुको दैनिक जीवनसँग दाल भात तरकारी जोडिएकाले फिल्मको नाम पनि दालभात तरकारी नै राखिएको यसका निर्माता एवम् अभिनेता हरिबँश आचार्यले बताए ।
अर्को हास्यव्यँग्य अभिनेता एवम् निर्माता मदनकृष्ण श्रेष्ठले शत्रु गते जस्तै दाल भात तरकारी पनि हास्य प्रधान र सबैलाई मन पर्ने चलचित्र बनाउन कोशिस गर्ने घोषणा समारोहमा बताए । यसका कार्यकारी निर्माता किरण केसीले मौलिक चलचित्र निर्माण गर्न लागेकाले यसको नाम पनि दाल भात तरकारी जुराएका हौं भने ।

बरिष्ठ संगीतकार शम्भुजीत बासकोटाले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य सफल कलाकारसँगै सफल निर्माता पनि भएको बताए । दाल भात तरकारीको टिम नै राम्रो भएकाले फिल्म पनि राम्रो बन्ने विश्वास उनले व्यक्त गरे ।