उच्च अदालतको आदेशमा निर्माता माधव वाग्ले २५ लाख धरौटीमा रिहा


व्युटी न्युज नेपाल
काठमाडौं, १८ साउन

चलचित्र निर्माता तथा नेपाल चलचित्र निर्माता संघका उपाध्यक्ष माधव वाग्ले थुना मुक्त भएका छन् । अढाई महिनापछि केन्द्रिय कारागारबाट उनी थुनामुक्त भएका छन् ।

उच्च अदालतले तोकेको २५ लाख रुपैयाँ धरौटी बुझाएर उनी शुक्रबार थुनामुक्त हुन सफल भए । उनलाई काठमाडौं जिल्ला अदालतले गत २ जेठमा नक्करी नोट प्रकरणमा थुनामा राखेर अनुसन्धानका लागि आदेश दिएको थियो ।

जिल्ला अदालतको सो आदेशविरुद्ध निर्माता वाग्लेले उच्च अदालत पाटनमा पुनरावेदन (१७ नम्बर) निवेदन दर्ता गराएका थिए । सो पुनरावेदनको सुनुवाईपछि उच्च अदालतको इजलासले थुनामा राखेर मुद्धा सुनुवाई गर्ने जिल्ला अदालतको आदेश बदर गर्दै धरौटीमा छाड्ने आदेश गरेको हो । सोही आदेश बमोजिम २५ लाख रुपैयाँ धरौटी राखेर निर्माता वाग्ले थुनामुक्त भएका हुन् ।

चलचित्र ‘चँगा चेट’मा नक्कली नोट देखाउने पर्ने भन्दै निर्माता माधव वाग्लेले ‘नक्कली नोट फिल्म प्रयोजनका लागि’ लेखेर १ हजार दरका नक्कली नोट प्रकाशन गर्न लगाएका थिए ।

सो नक्कली नोट उनको प्रोडक्सन टिमका सदस्यले बजारमा लगेर खरिदमा प्रयोग गरेपछि टिमका सदस्य पक्राउ परे । त्यसपछि खोजीको क्रममा वाग्लेको कार्यालयबाट १ हजार दरको २ करोड ५२ लाख रुपैयाँ नक्कली नोट प्रहरीले बरामद गरेको थियो । सोही नोटको आधारमा उनलाई पक्राउ गरेर प्रहरीले हिरासतमा राखी दुई साता अनुसन्धान गरेको थियो ।

सो अनुसन्धानपछि काठमाडौं जिल्ला अदालतमा सरकारबादी मुद्धामा सो अदालतले नक्कली नोट प्रकरणमा थुनामा राखेर अनुसन्धानका लागि आदेश दिएको थियो । सोही आदेश बमोजिम अढाई महिना कैद जीवनपछि उनी २५ लाख धरौटीमा रिहा भएका हुन् ।