पाठकलाई सबु सुवेदीको उपन्यास मञ्जूषा


व्युटी न्युज नेपाल
काठमाडौँ, १३ जेठ

आख्यानकार सबु सुवेदीले आफ्नो नयाँ उपन्यास ‘मञ्जूषा’ पाठकमाझ ल्याएकी छिन् । शनिबार राजधानीमा एक समारोहबीच उनले यो उपन्यास सार्वजनिक गरेकी हुन् । वरिष्ठ कवि तथा आख्यानकार भुवनहरि सिग्देल, आख्यानकार अमर न्यौपाने, साहित्यकार एवम् पत्रकार फूलमान वल, समीक्षक सचिन घिमिरे, चलचित्र लेखक प्रदीप भारद्वाज र उपन्यासकार सबु सुवेदीले संयुक्त रूपमा उपन्यासको विमोचन गरे ।

कार्यक्रममा पहिलो चरणमा पुस्तकको लोकार्पण र दोस्रो चरमा पुस्तकमाथि अन्तरक्रिया गरियो । लोकार्पणपछि पहिलो चरणको कार्यक्रममा बोल्दै वरिष्ठ साहित्यकार भुवनहरि सिग्देलले सबु सुवेदी नयाँ लेखक नभएर साहित्यिक जगतको क्षमतावान लेखकका रूपमा उपस्थित भएको बताए,‘लेखनमा परिपक्वता, सलर र सहज भाषाशैली लोभलाग्दो छ । सुवेदीको भाषाशैलीबाट प्रभावित भएको छु, भाषाशैली परिस्कृत छ ’ उनले भने ।

अर्का वक्ता चलचित्र लेखक प्रदीप भारद्वजले कार्यक्रममा बोल्दै भने,‘मैले यो उपन्यास पढेँ । पढ्ने क्रममा मलाई निकै राम्रो लाग्यो । म फरक विधाको मान्छे भएर पनि यस उपन्यासमा समाविष्ट कथावस्तुले मलाई छोएको छ ।‘ यस उपन्याले आफूलाई पनि लेख्न प्रेरित गरेको उनले बताए ।  दोस्रो चरणको अन्तरक्रिया कार्यक्रमको नेतृत्व समीक्षक सचिन घिमिरेले गरेका थिए । उनले लेखक सबु सुवेदी, आख्यानकार अमर न्यौपाने र पत्रकार फूलमान वनलाई प्रश्न सोधेर उपन्यासको बलियो तथा कमजोर पक्षमा टिप्पणी गरे ।

दोस्रो चरणको अन्तरक्रिया कार्यक्रमा आख्यानकार अमर न्यौपानेले उपन्यासको परिकल्पना र सरल प्रस्तुति रहेको बताए । उनले भने,‘उपन्यासको भाषा सरल रहेको छ । यसमा समाजको यथार्थ कथावस्तुलाई समावेश गरेको छ ।’ वर्तमान समाजको चित्रण उपन्यासमा भएको र कृतिमा युवा उमेरका प्रेम सम्बन्ध केलाइएको पनि आख्यानकार न्यौपानेले बताए ।

पुस्तकका बारेमा बोल्दै अर्का वक्ता फूलमान वलले भने,‘नयाँ लेखक भएर पनि सबु सुवेदीको लेखनमा परिपक्वता भेटिन्छ । समाजका सुक्ष्म पक्षलाई कथामार्फत सरल, सहज र सरस भाषाशैलीमा उतार्नु लेखकको बलियो पक्ष हो ।’ वलले उपन्यास नारीले लेखे पनि उपन्यासमा नारी र पुरुष दुवैको कथावस्तु समेटिएकाले यस उपन्यास विभिन्न कोणबाट समीक्षा गर्न सकिने भनाई राखे ।

पुस्तकमाथि बोल्दै सो उपन्यासकी लेखक सुवेदीले प्रेमको नयाँ परिभाषा गरेकी छु भनिन् । उनले बाँकी पाठकको जिम्मा लगाएको पनि जिकिर गरिन् । उपन्यास ‘मञ्जूषा’ शिखा बुक्सले प्रकाशन गरेको हो । जसको मूल्य ३७५÷ रुपैयाँ तोकिएको छ ।