दर्शकलाई सुनकेसरीले साँच्चै तर्सायो, व्यापारमा सुखद सुरुवात


रिलिज चलचित्र

व्युटी न्युज नेपाल
काठमाडौं, ११ जेठ

नेपालमा भुत प्रेत सम्बन्धि (हरर्र) फिल्म निकै कम बन्छन् । त्यसमा पनि उत्कृष्ट हरर्र फिल्म त्यत्ति बनेका छैनन् । अहिलेसम्मकै उत्कृष्ट बनेको भुत प्रेत सम्बन्धि हरर्र फिल्म ‘सुनकेसरी’ शुक्रबारबाट मुलुकका ७९ ओटा सिनेमा हलमा प्रदर्शन भएको छ । फिल्म हेरेपछि आफुहरुलाई सुनकेसरीको भूतले साँच्चै तर्साएको प्रतिक्रिया दर्शकले शुक्रबार व्युटी न्युज नेपाललाई दिएका छन् ।

यो चलचित्रलाई अभिनेत्री ऋचा शर्माले निर्माण गरेकी हुन् । चलचित्र सुनकेसरी शुक्रबार ११ बजेसम्ममा मुलुकका सबै जसो मल्टिप्लेक्समा हाउसफुल भएको अभिनेत्री ऋचाले बताएकी छिन् ।

शुक्रबारको व्यापार बारे उनले व्युटी न्युज नेपालसँग भनिन्,‘दर्शकहरुले अत्यन्त राम्रो प्रतिक्रिया दिनु भएको छ । हरर्र फिल्ममा अहिलेसम्मकै उत्कृष्ट नेपाली हरर्र फिल्म सुनकेसरी बनेको भनेर उहाँहरुको प्रतिक्रिया पाउँदा खुसी लागेको छ ।’

यो चलचित्रको बिहिबार बेलुका काठमाडौंमा प्रिमियर गरियो । प्रिमियरमा चलचित्रलाई सञ्चारकर्मी तथा सिनेकर्मीले रुचाए । नेपाली चलचित्रबृत्तमा प्राविधिक हिसाबले अहिलेसम्मकै उत्कृष्ट हरर्र फिल्म बनेको सञ्चारकर्मीहरुको प्रतिक्रिया थियो । सुनकेसरीको भुत अन्य हरर्र नेपाली चलचित्र मध्य सबै भन्दा बास्तविक देखिएको पनि सञ्चारकर्मीले बताए ।

सुनकेसरीलाई अर्पण थापाले लेखन निर्देशन गरेका हुन् । आफुले १० वर्ष अघि एउटा घटना सुनेरको स्मरण गर्दै त्यसलाई कथाको रुपमा उतारेर सुनकेसरी निर्माण गरेको अर्पणको भनाई छ । त्यतीबेला मायाँ नाम राखिए पनि अहिले सुनकेसरी सान्दर्भिक लागेकाले यसको नाम सुनकेसरी राखिएको पनि अर्पणले बताए ।

ऋचा शर्मा, शर्मिला सापकोटा, धर्मराज अधिकारी, मनोज अधिकारीले यो चलचित्र निर्माण गरेका हुन् । यसको सम्पूर्ण छायाँकन अष्ट्रेलियामा गरिएको हो । सुनकेसरीमा ऋचासँगै भीम न्यौपाने, सनी ढकाल, रबिन्द्र झा, सुनिल पराजुली, तमन्ना शर्मा लगायतको अभिनय छ ।