निर्माता र हलवाला बीच १७ बुँदे सम्झौता, निर्माताको घोषित आन्दोलन फिर्ता


व्युटी न्युज नेपाल
काठमाडौं, ३१ बैशाख

सिनेमा हलमा नेपाली चलचित्र प्रदर्शनबापत प्राप्त शेयर रकम प्रति असन्तुष्ट जनाएका एकथरी निर्माताहरुले २ जेठबाट आन्दोलन सुरु गरेपनि अन्तत हलवालासँग सम्झौता गरेर आन्दोलन फिर्ता लिएका छन् ।

आकाश अधिकारी अध्यक्ष रहेको नेपाल चलचित्र निर्माता संघले हलवालाहरुको संस्था नेपाल चलचित्र संघसँग ३० बैशाख राती १७ बुँदामा आपसी सम्झौता गर्दै आन्दोलन फिर्ता लिएका हुन् । हलमा सिनेमा प्रदर्शन बापत ६० प्रतिसत शेयर पाउनु पर्ने माग राख्दै आएको निर्माता संघको बिगतको भन्दा थोरै शेयर बढाएर सम्झौता गरेका छन् ।

मल्टिप्लेक्समा बिगतमा नेपाली चलचित्र प्रदर्शन बापत पहिलो साता ५० प्रतिसत, दोस्रो साता ४२.५ प्रतिसत , तेस्रो साता ३७.५ र चौथो साताबाट जती प्रदर्शन भए पनि ३० प्रतिसत पाउँथे । अब मल्टिप्लेक्समा पहिलो साता ५० प्रतिसत, दोस्रो साता ४५ प्रतिसत, तेस्रो साता ४० प्रतिसत र चौथा साताबाट ३५ प्रतिसत रकम कुल व्यापारमा कर काटेर प्राप्त गर्नेछन् ।

त्यसैले निर्माताले ६० प्रतिसत हरेक साता पाउने माग अन्तत ५० देखि ३५ प्रसिसतमा आएर टुँगिएको छ । सिँगल थिएटरमा भने नेपाली चलचित्र जती हप्ता चलेपनि निर्माताले खर्च काटेर ५० प्रतिसत शेयर पाउने छ ।

नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी र नेपाल चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदयले सोमबार नेपाल चलचित्र संघको कार्यालयमा पत्रकार भेटघाट आयोजना गरी आपसमा भएको सम्झौता सार्वजनिक गरे । सो सम्झौता निम्न बमोजिम छ् ः

पत्रकार सम्मेलनमा निर्माता संघ र चलचित्र संघका पदाधिकारीहरु

नेपाल चलचित्र संघ र नेपाल चलचित्र निर्माता संघबीच भएको
सम्झौता र   सहमति पत्र

नेपाली चलचित्र उद्योगको विकाश विस्तार, प्रवद्र्धन र संरक्षणका लागि स्वदेशी चलचित्रको निर्माण, वितरण तथा प्रदर्शनमा विशेष प्राथमिकताको मान्यतालाई स्थापित गर्न तथा नेपाली चलचित्रलाई व्यवस्थित, मार्यादित एवं सर्वसुलभ तरिकाले प्रदशर्न गर्न गराउनका लागि नेपाली चलचित्र उद्योगसंग प्रत्यक्ष सरोकार राख्ने व्यवसायिक संघहरु नेपाल चलचित्र संघ तथा नेपाल चलचित्र निर्माता संघ बीच निम्न बमोजिमका बुँदाहरुमा सहमत भई सम्झौतामा हस्ताक्षर गरी एकरएक प्रति लियौँरदियौँ ।

सम्झौताका शर्तहरु
१. कुनै पनि चलचित्र घरले आफ्नो हलमा प्रदर्शन गर्ने चलचित्रको टे«लर, ब्यानर, पोष्टर र स्टाण्डी समेतको प्रचार प्रसार समाग्रीको दुई हप्तासम्म निःशुल्क सेवा प्रदान गर्ने गराउनेछ ।

२. मल्टी प्लेक्स चलचित्र घरको शेयरको रकम प्रत्येक हप्तामा चलचित्र प्रदर्शन पश्चात् वितरकले भ्याट बिल जारी गरेको दुई हप्ता भित्र अनिवार्य रुपमा भुक्तानी गर्नु पर्नेछ । सिंगल स्टेशनको हकमा चलचित्र उत्रेको दुई हप्ता भित्र भुक्तानी गर्नु पर्नेछ । यो अवधि भित्र भुक्तानी नभएमा संयुक्त कार्यदलले गरेको निर्णय अनुसार हर्जाना सहित कारबाही गर्ने गराइनेछ ।

३. चलचित्र घरले आफ्नो चलचित्र घरमा रहेका क्याबिनको हिसाब समेत उपलब्ध गराउनु पर्नेछ ।

५. चलचित्र घरहरुले कुनै पनि हलभाडा वा हल खर्चको नाममा खर्च काट्न पाइने छैन ।

६. काठमाण्डौ उपत्यका भित्रका चलचित्र घरहरुमा टिकट दर रु. २५०।०० वा ३ वा ३ भन्दा बढी चलचित्र भवन रहेको चलचित्र घरलाई मल्टिप्लेक्सको मान्यता दिनेछ । उपत्यका बाहिरको हकमा टिकरट दर रु. २००।०० वा ३ वा ३ भन्दा बढी चलचित्र भवन रहेको चलचित्र घरलाई मल्टिप्लेक्सको मान्यता दिइनेछ ।

क. मल्टीप्लेक्स चलचित्र घरहरुको नेट शेयर बाँडफाँड पहिलो हप्ता ५० प्रतिशत । दोश्रो हप्ता ४५ प्रतिशत तेश्रो हप्ता ४० प्रतिशत चौथो हप्ता देखि ३५ प्रतिशत वितरक (निर्माता) ले पाउनेछ ।

ख. सिंगल चलचित्र घरको नेट शेयर बाँडफाँड पचास पचास प्रतिशतको आधारमा हुनेछ ।

ग. उपत्यका भित्र गोपीकृष्ण मुविजको गोपी हल र कृष्ण हल, अष्टनारायणको क र ख हल, गुण सिनेमाको क, ख र च हल तथा बारही मुविजको क हललाई मल्टीप्लेक्स सरहको शेयर बाँडफँड गरिनेछ ।

घ. उपत्यका बाहिरको हकमा पोखराको श्रीकृष्ण, बाराही चलचित्र घरको क र ख लाई मल्टीप्लेक्स सरहको शेयर बाँडफाँड गरिनेछ ।

ङ. बुँदा नं ६ मा उल्लेख भए बमोजिम अन्य चलचित्र घरहरुले भौतिक पूवाधार पूरा गरेमा मल्टीप्लेक्सको मान्यता हुनेछ ।

७. नेपाल चलचित्र निर्माता संघको आधिकारिक सदस्यलाई नेपाल चलचित्र संघले मान्यता दिइनेछ । नेपाल चलचित्र संघका आधिकारिक सदस्यलाई नेपाल चलचित्र निर्माता संघले मान्यता दिइनेछ ।

८. निर्माता र वितरक तथा वितरक र प्रदर्शकको बीचमा चलचित्र प्रदर्शन अगावै अनिवार्य रुपमा सम्झौता गर्नु पर्नेछ । सम्झौताको नमूना संयुक्त कार्यदलले तयार गर्नेछ ।

९. चलचित्र घरले निर्माता वा वितरकको अनुमति विना पास जारी गर्न पाइने छैन । यस सम्बन्धमा विवाद भएमा कार्यदलमा छलफल गरिनेछ ।

१० यस अघि विभिन्न मितिमा नेपाल चलचित्र संघ र नेपाल चलचित्र निर्माता संघबीच चलचित्र प्रदर्शन सम्बन्धमा भए गरिएका सहमति र सम्झौताहरु यो सम्झौताहरु लागु भएपछि स्वतः खारेज हुनेछन् ।

११. सबै निर्माता, वितरक तथा प्रदर्शक अनिवार्य रुपमा पारदर्शी व्यपारमा जानु पर्नेछ ।

१२. चलचित्र निर्माताले वितरकलाई अनिवार्य रुपमा भ्याट बिल दिनु पर्नेछ । वितरकले शेयर रकम लिँदा प्रदर्शकलाई अनिवार्य रुपमा भ्याट बिल दिनु पर्नेछ ।

१३. बक्स अफिस लगाउने सम्बन्धमा दुबै संघको पूर्ण प्रतिबद्धता रहेकोछ ।

१४. यो सम्झौता मिति २०७५ साल जेष्ठ ४ गते देखि लागु हुनेछ ।

१५. यो सम्झौताको अवधि २ (दुई) वर्षको हुनेछ ।

१६. डि. सि. पी. फाइल तथा भि. पी. सी. र क.े डी. एम. को विषयमा सरोकारवालासंग दुबै पक्षले छलफल गरी निर्णय गरिनेछ ।
१७. यो सम्झौतालाई अक्षरसः पालना गर्ने गराउने विषयमा दुबै पक्षले प्रतिवद्धता व्यक्त गर्दछौँ ।

कार्यदल कार्यदल
नेपाल चलचित्र संघ                         नेपाल चलचित्र निर्माता संघ
१. श्री भाष्कर ढंगाना संयोजक          १. श्री केशव भट्टराई संयोजक
२. श्री नरेन्द्र महर्जन सदस्य              २. श्री छविराज ओझा सदस्य
३. श्री गोपालकाजी कायस्थ सदस्य      ३. श्री दीपक राज गिरी सदस्य
४. श्री त्रिरत्न मानन्धर सदस्य           ४. श्री निश्चल बस्नेत सदस्य
५. श्री भरत अग्रवाल सदस्य               ५. श्री अर्जुन कुमार डंगोल सदस्य
६. श्री भुवन के.सी. सदस्य

श्री प्रदीप कुमार उदय अध्यक्ष               श्री आकाश अधिकारी अध्यक्ष
श्री अर्जुन श्रेष्ठ महासचिव                    श्री रोज राणा महासचिव

इति सम्बत् २०७५ साल बैशाख ३० गते रोज १ शुभम् ।