काठमाडौ, ६ चैत

विश्वको नम्बर एक गायन रियालिटी शो ‘द भ्वाईस’लाई अब नेपाली दर्शकले आफ्नो भाषामा सुन्दै आफ्नै टेलिभिजनमा हेर्दै आफैं नेपाली संस्करणको बिजेता समेत हुन पाउने भएका छन् । किनकी द भ्वाईसको नेपाली फ्रेन्चाइज ‘द भ्वाईस अफ नेपाल’ सुरु हुने भएको छ । मिठो स्वर भएकाहरुलाई देश बिदेशमा आफुलाई गायनबाट चिनाउन यो ठुलो अबसर सावित हुने भएको छ ।

आइतवार राजधानीको एक होटलमा एक कार्यक्रमको आयोजना गर्दै यो प्रतियोगिताका औपचारिक घोषणा गरियो । नेपाल आइडल निर्देशन गरेका लक्ष्मण पौडेलले नै यो रियालिटी शोलाई निर्देशन गर्दैछन् । घोषणा सभामा निर्देशक पौडेलले भने,‘विश्वमा धेरै खालको गायन प्रतियोगिता भए पनि जहिले गायन प्रतियोगिता भन्दा अन्य कुराको चर्चा हुने गथ्र्यो । तर हामीले यो विवाद भन्दा पर रहेर काम गर्ने सोच बनाउँदै अघि बढ्दा द भ्वाईस फेला परेको हौं ।’

असारबाट प्रशारणमा आउने यो प्रतियोगिताको निर्णायकको रुपमा बरिष्ठ गायक दीप श्रेष्ठ, गायकहरु प्रमोद खरेल, सनुप पौडेल र अभया सुब्बा रहने छन् । आयोजकको भनाई अनुसार इतिहासमा नै पहिलो पटक यो नेपाली शो अन्तराष्ट्रिय प्लेटफर्ममा समेत जानेछ । केहि शोहरु ‘द भ्वाईस ग्लोबल’ भिडियो च्यानलमा प्रशारण हुनेछ । जहाँ संसारभरका प्रतिभालाई अटाईएको छ । यसको फ्रेन्चाइजी विश्वका एक सय ९१ मुलुकमा प्रसारण हुन्छ ।

 

यो प्रतियोगितालाई प्रलाद सिंह महतले आयोजना गर्न लागेका हुन् । यो रियालिटी शोमा फिरोज तिमल्सिना प्रमुख सहायक निर्देशकको रुपमा रहेका छन् । सुशील नेपालले सञ्चालन गर्ने यो शोको बिजेतालाई ‘भ्वाईस अफ नेशन’ घोषणा गरिने छ । विजेताले पच्चीस लाख नगद, नयाँ कार, बीस लाख बराबरको भिडियो एल्बमको समझौता तथा वल्र्ड टुरको अवसर प्राप्त गर्ने महतले जानकारी गराएका छन् ।

त्यस्तै सोहि कार्यक्रममै ‘द भ्वाईस अफ नेपाल’को एप्स सार्वजनिक गरियो । यो एप्सको माध्यमबाट प्रतियोगीतामा भाग लिन चाहनेले गीत रेकर्ड गरेर पठाउन सक्नेछन् । यो कार्यक्रमलाई अडिसन दिन घन्टौ लाईनमा बस्नु नपर्ने पनि प्रमुख सहायक एबम् आइ टी प्रमुख फिरोज तिमल्सीनाले बताए ।