ब्युटी न्युज नेपाल
काठमाडौँ, २१ चैत
चलचित्र ‘के घर के डेरा : घर नं २’को रिलिज मिति परिवर्तन भएको छ । अब यो चलचित्र आगामी २ जेठमा रिलिज हुने भएको छ । यस अघि यो चलचित्र ९ जेठमा रिलिज हुने भनिए पनि यसलाई एक हप्ता अघि अर्थात २ जेठमा सारिएको निर्माण पक्षले जनाएको छ ।
सिनेमामा आर्यन सिग्देल, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरेलगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
दीपेन्द्र के खनाल निर्देशित यो चलचित्रको एकसाथ ३ पोस्टर रिलिज गरेको छ । सार्वजनिक गरिएका तीन पोस्टरमध्ये एकमा निश्चल बस्नेतलाई सोलो रुपमा प्रस्तुत गरिएको छ जहाँ निश्चललाई कतै पुग्न हतार भएझै गरी कुदिरहेको अवस्थामा देख्नसकिन्छ । यस पोस्टरमा उनको अनुहारले उनी तनावपूर्ण अवस्था रहेको देखाउँछ ।
यसैगरी दोश्रो पोस्टरमा अर्का अभिनेता खगेन्द्र लामिछाने तथा अभिनेत्री उपासना सिंह ठकुरीलाई रोमान्टिक शैलीमा प्रस्तुग गरिएको छ । पोस्टरमा झोला भिरेकी तथा हातमा केही सामान बोकेर हिँडिरहेकी उपासनालाई अभिनेता खगेन्द्रले साइकल डोराउँदै, मुस्कुराउँदै पछ्यारहेको देख्न सकिन्छ ।
यसैगरी तेश्रो पोस्टरमा सिनेमाका अधिकाशं मुख्य पात्रहरुलाई प्रस्तुत गरिएको छ । सार्वजनिक ३ मध्येको सबैभन्दा शक्तिशाली यो पोस्टरले सिनेमाको नाम अनुसारको बिम्बमा आफूलाई प्रस्तुत गरेको छ । यस पोस्टरमा पात्रहरूलाई तीन तले घरको तल्लाका विभिन्न कोठाको झ्यालमा भएझैं गरी डेरा जीन्दगीमा उनीहरुको मनोदशामा प्रस्तुत गरेको छ ।
जहाँ एकातर्फका कलाकार कोही गम्भिर भाव त कोही चिन्तित मुद्रामा छन् भने अर्को तर्फको भागमा खुशी मुद्रामा सिनेमाका पात्रहरुलाई देख्न सकिन्छ ।
यस पोस्टरमा अभिनेता आर्यन सिग्देल, खगेनद्र लामिछाने तथा अभिनेत्री केकी अधिकारीलाई गम्भिर, चिन्ताग्रस्त र गम्भिर भावमा देख्न सकिन्छ भने अर्को तर्फ निश्चललाई खुशी अवस्थामा, अभिनेता प्रकाश घिमिरेलाई उपसनासँग खुशी मुडमा र श्रृजना नापितलाई खुशी भइरहेको देख्न सकिन्छ ।
के घर के डेरा : घर नं २’ लाई बुद्धि सागरले लेखेका हुन् । जसमा कृष्णबहादुर थापाको छायांकन रहेको छ । एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रियशनको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रमा नकिम उद्दिन, शरद श्रेष्ठ तथा किरण महर्जनको निर्माता रहेका छन् । युवराज कार्की यसका कार्यकारी निर्माता हुन् ।