मोफसल दौडमा मँगलम् युनिट


 

इटहरी,१२ फागुन

चलचित्र मँगलम्को प्रदर्शन मिति नजिकिँदै गर्दा यसको निर्माण टिम यतीबेला स्थानीय सञ्चारकर्मीसँग साक्षात्कारको लागि मोफसल दौडमा छ । यो चलचित्रको युनिटले शनिबार दुई स्थान धरान र इटहरीमा छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरेर पत्रकारहरुसँग साक्षात्कार गरेको छ ।

छबिराज फिल्मस्को व्यानरमा निर्मित चलचित्र मँगलम् २५ फागुनबाट देशव्यापी प्रदर्शनीमा आउँदैछ । शनिबारको पत्रकार भेटघाटमा यसकी अभिनेत्री शिल्पा पोखरेलले यो चलचित्रमा आफुले बिगतका सिनेमा भन्दा अझ राम्रो काम गरेको बताईन । दर्शकले बिगतका सिनेमा भन्दा निकै फरक भूमिकामा आफुलाई देख्ने यी अभिनेत्री शनिबार सञ्चारकर्मीलाई बताएकी छिन् ।

 

चलचित्रको प्रचारका लागि मोफसल पुगेको टिममा निर्माता छविराजसंगै निर्देशक नवल नेपाल, अभिनेता पुष्प खड्का पनि छन् । यो चलचित्र पारिवारिक प्रेम कथामा आधारित रहेको निर्माण पक्षको कथन छ । अभिनेता पुष्पलले पनि बिगतका चलचित्रमा भन्दा यसमा आफ्नो फरक भूमिका भएको बताएका छन् । दर्पण छायाँ–२ बाट मुख्य अभिनेताको रुपमा चलचित्रमा उदाएका पुष्पलले पनि आफु यो सिनेमाबाट माथि उठ्नेमा पूर्ण विश्वस्त रहेको प्रतिक्रिया सञ्चारकर्मीलाई दिएका छन् ।

 

निर्देशक नवल नेपालले आफ्नो चलचित्र मँगलम्मा हाँस्य, रोदन, द्धन्द्ध प्रेम सबैकुरा दर्शकले हेर्न पाउने बताएका छन् । छबिराज फिम्स्मा यस अघि आफुले निर्देशन गरेका लज्जा भन्दा मँगलम् अझ राम्रो बनेको पनि यी निर्देशकले बताएका छन् । चलचित्र मँगलम्मा शिल्पा, पुष्पलसंगै पृथ्वीराज प्रसाईँ, नीर शाह, मिथिला शर्मा सहितको अभिनय रहेको पनि निर्देशक नेपालले बताएका छन् ।

यसका निर्माता ओझाले आफुले दर्शकका लागि सँधै राम्रो सिनेमा दिएको र यस पटक पनि समय अनुसारको चलचित्र बनाएको बताएका छन् । अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह यो चलचित्रमा विशेष भूमिकामा रहेको पनि उनले प्रकाश पारेका छन् ।

 

निर्माता ओझाका अनुसार शनिबार नै इटहरीबाट बिर्तामोड गएको यो टोलीले आईतबार विर्तामोड र दमकका सञ्चारकर्मीसँग भेटघाटसँगै मँगलम्कोबारे चर्चा गर्नेछन् । यसपछि हेटौडा, चितवन, बुटबल, पोखरा, दाङ लगायतका स्थानमा पुगेर चलचित्रकोबारे पत्रकार भेटघाट गर्ने कार्यक्रम रहेको पनि निर्माता ओझाले बताएका छन् ।