फिल्म खेल्न सात महिना सैनिक तालिम गरेका थिए गोर्खा वारियरका कलाकारले


“एउटा चरित्रका लागि सात महिनासम्म हामीले तालिम गरेर उक्त जीवनलाई पर्दामा जिउने कोसिस गरेका छौँ । सुरुमा छोडेर जाउँजस्तो नभएको पनि होइन तर हाम्रो पुर्खाका गौरवगाथाले मलाई यो भूमिकासँग जोडेर राख्यो”, अभिनेता रेयर राईले भन्नुभयो ।

……………………………………………………………………………………………………………………………………………………………….

ब्युटी न्युज नेपाल
काठमाडौं ४ फागुन

एउटा चलचित्रको लागि कलाकारलाई दुई तीन महिना अभिनय सिकाईन्छ । तर चलचित्र गोर्खा वारियरको कलाकारलाई बास्तविक सिपाही जस्तो बनाउन सात महिनासम्म पनि सैनिक तालिम दिईएको निर्माण पक्षबाट खुलासा गरिएको छ ।

वीरताको कथा र देशभक्तिलाई केन्द्रमा राखेर नेपालमा कमै चलचित्र निर्माण हुने गरेका छन् । अनुसन्धानमा समय र निर्माण लागत धेरै लाग्ने भएकाले निर्माता–निर्देशकले यस्ता विषयलाई ध्यान नदिएका हुन् । पूर्वगोर्खा सैनिक रहिसक्नुभएका निर्देशक तथा निर्माता मिलन चाम्सले गोर्खालीले रचेको इतिहासलाई समेटेर ‘गोर्खा वारियर’ निर्माण गर्नुभएको छ ।

निर्देशक चाम्सका अनुसार यो फिल्ममा आबद्ध सैनिकको भूमिका निर्वाह गर्ने १२ जना कलाकारलाई भक्तपुरको नगरकोटमा सात महिनासम्मको सैनिकको विशेष प्रशिक्षण दिइएको थियो । सोही कारण यो फिल्ममा बृटिस गोर्खा सैनिकको भूमिका निर्वाह गर्ने १२ जनाको अभिनय बृटिस गोर्खा सैनिककै दुरुस्त देखिएको छ ।

यही फागुन ११ देखि प्रदर्शन गरिने चलचित्र ‘गोर्खा वारियर’ मा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा प्रस्तुत गरिएको छ । नेपालमा प्रदर्शन गर्नुअगाडि नै बेलायतमा प्रिमियर गरेर अन्तर्राष्ट्रियरूपमा चर्चामा रहेको चलचित्र निर्माण पूरा गर्न तीन वर्ष लागेको निर्देशक चाम्सले जानकारी गराउनु भएको छ ।

“मैले यसमा चलचित्रमा देखाइने काल्पनिकभन्दा पनि वास्तविक रूपमा सैनिकले लड्ने युद्ध देखाएको छु । म आफैँ पूर्वसैनिक भएकाले पनि यसमा कुनै सम्झौता गरिँन । चलचित्रमा सैनिकको घरपरिवार र पेसालाई देखाइएको छ । यसको तयारी एक दशक अगाडिको भएता पनि छायाङ्कनमा तीन वर्ष खर्चेको छु”, निर्देशक चाम्सले भन्नुभयो ।

यो चलिचत्रका निर्देशक चाम्सले चलचित्रमा सन् १९४९ को समय देखाउन उक्त समयमा युद्धमा प्रयोग भएका वस्तु नै विभिन्न सङ्ग्रहालयबाट ल्याएर प्रयोग गरिएको जानकारी दिनुभयो । यसमा मुख्य भूमिका निर्वाह गर्नुभएका अभिनेता रितेश चाम्स आफैँ पूर्वगोर्खा सैनिक भएता पनि चलचित्रका लागि विभिन्न प्रशिक्षण लिएको बताउनुभयो ।

“मैले युद्धको क्रममा भोगेको भोगाइलाई नै यसमा प्रस्तुत गरेको छु । गोर्खाली गाथामार्फत नेपाललाई विश्वमा चिनाउने उद्देश्यका साथ यसमा अभिनय गरेको हुँ । गोर्खाली भनेपछि हामीले विदेशमा पाइरहेको सम्मानलाई शब्दमा व्यक्त गर्न सक्दैनौँ । यो गोर्खालीको पराक्रमको दस्तावेज हो”, अभिनेता चाम्सले भन्नुभयो ।

उहाँले चलचित्रमा सैनिक देखिन सम्पूर्ण पात्रलाई झण्डै सात महिनाको प्रशिक्षण दिएको जानकारी दिनुभयो । मुख्य अभिनेता रितेश चाम्स आफैँ पूर्वसैनिक रहनुभएकाले उहाँबाहेकका अन्य कलाकारले तालिम लिनुभयो । त्यसमध्येका एक अभिनेता रेअर राईले उक्त समयमा निकै कठिन भएको बताउनुभयो ।

“एउटा चरित्रका लागि सात महिनासम्म हामीले तालिम गरेर उक्त जीवनलाई पर्दामा जिउने कोसिस गरेका छौँ । सुरुमा छोडेर जाउँजस्तो नभएको पनि होइन तर हाम्रो पुर्खाका गौरवगाथाले मलाई यो भूमिकासँग जोडेर राख्यो”, अभिनेता रेयर राईले भन्नुभयो । उहाँले तालिममा गरिएका अभ्यासले चलचित्र छायाङ्कनमा सहजता भएको बताउनुभयो ।

अर्का अभिनेता सुरज तमुको भनाईमा ९ महिनासम्म तालिम लिएपछि सेना तथा प्रहरीका जवानहरु तालिममा पास हुन्छन् । उनी जवानजस्तै आफुहरुले पनि सात महिनासम्म सैनिकले लिने सबै तालिम लिएर सैनिकको भूमिका निर्वाह गर्न सकेको उहाँले बताउनु भयो,‘केही नाटकमा काम गर्न सैनिकको भूमिका मैले निभाएको भए पनि त्यो सामान्य थियो । बास्तविक बृटिस गोर्खा सैनिक बन्न कत्ति गाह्रो रहेछ भन्नेकुरा सात महिनासम्म निर्देशक मिलन चाम्स सरको कमाण्डमा सैनिक तालिम लिएपछि पो मैले महसुस गरेँ ।’ आफुहरुको त्यो तालिम र बम बारुद पड्कोको ठाउँमा ज्यानको बाजी लगाएर गरेको कामले एउटा सैनिकको बास्तविकता आफुलाई महसुस भएको पनि उहाँले बताउनु भयो ।

यो चलचित्रमा अर्का कलाकार बिरुप घलेले ७५ वर्ष अघि गाउँको चरित्र निर्वाह गर्नु भएको छ । त्यतिबेला गाउँमा दौरा र कछाड लगाएर खाली खुट्टा भारी बोकेर हिड्न कती कठिन थियो भन्ने कुरा आफुले यो चलचित्रको छायाँकनमा निर्वाह गरेको भूमिकाबाट पूर्ण मससुस गरेको घलेले बताउनु भयो । आफुले धेरैवटा स्थानीय चलचित्रमा काम गरे पनि एउटा युद्धासम्बन्धि फिल्म बनाउन कत्ति गाह्रो हुँदो रहेछ भन्नेबारे यो फिल्ममा काम गरेपछि महसुर भएको बिरुप घलेले बताउनु भयो ।

चलचित्रमा विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राईलगायत कलाकारले अभिनय गर्नुभएको छ । चलचित्रलाई प्रदर्शनका लागि रिच इन्टरटेन्मेन्टका करण श्रेष्ठले वितरण गर्दै हुनुहुन्छ ।

तस्बिर : बद्री थापा/ब्युटी न्युज नेपाल
समाचार श्रोत : रासस