चलचित्र जारीले निरन्तर प्रदर्शनीको ५१ दिन मनायो


ब्युटी न्युज नेपाल
काठमाडौं, २० जेठ

चलचित्र ‘जारी’ले निरन्तर प्रदर्शनको एकाउन्न दिन पूरा गरेको छ । चलचित्रका कार्यकारी निर्माता मणिराम पोखरेलले यो चलचित्रले काठमाडौं उपत्यकासँगै आजबाट बुटवल, नेपालगञ्ज, नारायणघाट र विर्तामोडका हलमा सफल प्रदर्शनको ५१ दिन पुरा गरेको बताएका छन् । यो साता एउटा पनि नेपाली चलचित्र प्रदर्शन नहुँदा सिनेमाका व्यापार शनिबार झनै राम्रो भएको पनि उनको कथन छ ।

यसमा दयाहाङ राई, मिरुना मगर, विजय बराल, प्रेम सुब्बा, अनिल सुब्बा, रोयदीप, रेखा लिम्बू, कमलमणि नेपाल, पुष्कर गुरुङलगायतको अभिनय रहेको छ ।

चलचित्रले शुक्रबारसम्म १४ करोड २१ लाख २३ हजार छ सय ७८ रुपैयाँको विशुद्ध (कर कट्टा गरिएको नेट कलेक्सन) व्यापार गरेको चलचित्र विकास बोर्डको विवरणमा उल्लेख छ ।

लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएको यो चलचित्रमा अर्कोसँग गएको श्रीमती फिर्ता ल्याउन सङ्घर्षरत श्रीमानको कथा प्रस्तुत गरिएको छ । लिम्बु समाजमा विधामान जारी प्रथामा यो चलचित्र आधारित छ । यो सिनेमालाई कवि÷कथाकार उपेन्द्र सुब्बा निर्देशन गरेका हुन् । सिनेमा उनकै लेखनमा तयार भएको हो ।

“वर्षकै पहिलो एकाउन्न दिन पूरा गर्ने चलचित्र बन्यो । अहिले चलचित्र भवनको सङ्ख्या बढेको समयमा यो सफलता विरलै हो । पर्दामा समुदायको संस्कृतिलाई दर्शकले रुचाउनुभयो”, उपेन्द्रले भने ।

‘कब्बडी’का शृङ्खलामार्फत लेखनमा सक्रिय निर्देशक सुब्बाले आफ्नो समुदायको कथा भन्नुपर्छ भन्ने लागेपछि चलचित्र निर्देशनमा आफु लागेको बताएका छन्,“लिम्बू समुदायमा बिहेमा पतिले वचनका साथ सिक्का (युप्पारुङ) दिइने चलनमा आधारित छ । त्यो युप्पारुङमा चेलीको आत्मनिर्णयको अधिकार समाहित हुन्छ”, निर्देशक सुब्बाले भने ।