‘मैले खेलेको मध्य नीरफूल उत्कृष्ट स्कृप्टमा बनेको चलचित्र हो’– अभिनेता दयाहाङ


ब्युटी न्युज नेपाल
काठमाडौं, १३ जेठ

तामाङ समुदायको संस्कृति तथा हिमाली जनजीवनको कथा बोकेको नेपाली चलचित्र ‘नीरफूल’ यही २६ जेठबाट विश्वव्यापी प्रदर्शनमा आउने भएको छ ।

यो अर्गानिक सिनेमा रहेको यो चलचित्रका कलाकार एवम् प्राविधिकले बताएका छन् । शुक्रबार साँझ काठमाडौंमा आयोजना गरिएको नीरफूलको पत्रकार भेटघाट कार्यक्रममा उनीहरुले यस्तो भनाई राखेका हुन् ।

फ्रेन्ड्स अफ नेपाल– म्यानमार फ्रेन्डिसिप काउन्सिलको सहकार्यमा सेलो फाउन्डेसनद्धारा निर्मित यो चलचित्रका मुख्य अभिनेता दयाहाङ राईले नीरफूलको बारेमा भने,‘कैयौं वर्षमा प्रकृतिले यस्तो घटना निम्त्याउँछ र त्यो घटनामा चलचित्र बन्छ । नीरफूल त्यस्तै एउटा चलचित्र हो, जो मैले अभिनय गरेको मध्य एउट पृथक र अर्गानिक चलचित्र हो ।’ यो चलचित्रको स्कृप्टसँगै विषयबस्तु नै बलियो भएकाले आफुले यो चलचित्रमा काम गर्दा निकै आनन्द लागेको अभिनेता दयाहाङले जिकिर गरे । यतिबेला उच्च सफलता हाँसिल गरिरहेको चलचित्र जारी सांस्कृतिक सिनेमा भएकाले त्यो सिनेमा चलेको बताउँदै यी अभिनेताले भने,‘मेरा कैयौं फिल्मले ५१ दिन मनाउँदै व्यबसायिक सफलतको रेकर्ड पनि तोडेका छन् । तथापि बिषयबस्तु र मौलिकताको हिसाबले मलाई जारी जस्तै अत्यन्त मन परेको अर्को चलचित्र नीरफूल हो ।’

यो चलचित्रमा अभिनेता दयाहाङ राईसँगै शान्ति वाईबा, बुद्धि तामाङ, जिग्मे छ्योकी घिसिङ, पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, जीवन बराल, लक्ष्मी बर्देवा, मानस राज, रोशन फुर्वा, विजय लामालगायतको मुख्य भूमिका रहेको छ ।

अर्का हास्यब्यँग्य अभिनेता बुद्धी तामाङले नीरफूलको कथाबस्तु र तामाङहरुको मौलिक संस्कृतिमा काम गर्दा निकै आनन्द आएको बताए । सिनेमा समसामयिक बिषयसँगै मौलिक संस्कृतिमा केन्द्रित रहेको उनले जिकिर गरे । आफु यो सिनेमामा सञ्चारकर्मीको भूमिकामा रहेको पनि उनले खुलाए ।

सञ्चारकर्मी फुलमान निर्देशित यही चलचित्रबाट सञ्चारकर्मी शान्ति वाईबाले नायिकाको रुपमा ठुलो पर्दामा डेब्यु गर्दैछिन् । मण्डला थिएटरबाट नाटकमार्फत अभिनय यात्रामा अघि बढेकी अभिनेत्री शान्तिले मण्डलकै अग्रज कलाकारहरुसँग यो चलचित्रमा काम गर्न पाउँदा अझ निखार अभियनमा दिन सकेको बताईन् । रसुवाको रुवी भ्यालीमा काम गर्दाको अनुभव सुनाउँदै उनले भनिन्,‘यो सिनेमाको छायाँकनका क्रममा म रुवी भ्याली र काममा यतिधेरै समर्पित भएछु की अहिले पनि सपनामा रुवी भ्यालीको सुन्दरता र यो चलचित्रको छायाँकन दृष्य नै देख्छु ।’

गायक र रँगकर्मीको रुपमा परिचय बनाएका कलाकार मानस राजले आफुलाई गायकको रुपमा चिनेका श्रोता दर्शकले यो चलचित्रमा फरक अबतारमा पाउनु हुनेछ भने ।

रँगकर्मी राजन खतिवडाले आफुलाई यो सिनेमाको कथा र बिषयबस्तु अत्यन्त मन परेको र सोचेको भन्दा राम्रो पारिश्रमिक नीरपूmलमा पाएको जानकारी गराउँदै भने,‘निर्देशक फुलमानजीले हरेक साना साना कुरालाई पनि निकै गहिरो रुपमा यसमा प्रस्तुत गर्नु भएको छ । यो चलचित्र नेपाली सिनेमा उधोगको लागि मानक सिनेमा बन्न सक्छ ।’

जिग्मे छ्योकी घिसिङ आफु यस अघि गायिकाको रुपमा परिचित भए पनि नीरफूलले आफुलाई अभिनयमा स्थापित गराउने विश्वास व्यक्त गरिन् । भूकम्पको बेला उपचार गर्ने नाममा हराएको बालिकाको भूमिकामा आफु रहेको उनले बताईन् ।

यो चलचित्रका निर्देशक फुलमान बलले यो सिनेमा २०७२ को महाभूकम्पको घटनामा केन्द्रित भएको देखिए पनि यसको बिषयबस्तु पूर्णरुपमा फरक रहेको बताए,‘मुलुकमा विद्यमान करप्सनलगायत विविध बिषयमा यो चलचित्र केन्द्रित छ । यो भूकम्पको कथामा बनेको फिल्म हैन, फिल्मको कथा अर्कै छ ।’ निर्देशक फुलमानले भने,‘चलचित्र नीरफूलमा तपाईले अहिलेको विविध समस्यालाई पाउनु हुनेछ । यो चलचित्र हेरेपछि तपाई एक पटक सोच्न बाध्य हुनुहुने छ ।’

यो चलचित्रलाई फुलमानसँगै दीपक श्रेष्ठ (युके), माया केसी (युएई), उदय लामा (जापान), चन्द्रमाया लामा (इजरायल), दिनेश लामतरी मगर (कोरिया), अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनम लामा (नेपाल)ले निर्माण गरेका हुन् । फिल्मको सह निर्मातामा गणेश थापा, अशोक थापा, बिके श्रेष्ठ, इन्द्र तामाङ (अमेरिका) रहेका छन् । यो चलचित्रलाई काफिया फिल्मस्बाट गोविन्द शाहीले बितरण गर्दैछन् ।

चलचित्रको पटकथा सचिन घिमिरे र फुलमान बलले लेखेका हुन् । जसमा प्रमोद कार्कीको छायाँकन, निमेश श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्र कुमार दोङको संगीत रहेको छ । सिनेमा गीत राजेश पायल राई, प्रमोद खरेल र दुर्गा खरेलले गायका छन् ।