प्रसाद २ को मार्सी धानमा केकी र विपिन


ब्युटी न्युज नेपाल
काठमाडौं, ७ चैत

चलचित्र ‘प्रसाद २’को रिलिज मिति नजिकिँदै गर्दा यो चलचित्रको नयाँ गीत रिलिज गरिएको छ । चैत्रको २४ गतेबाट रिलिज हुने यो चलचित्रको पहिलो गीत ‘मार्सी धान’ आज रिलिज गरिएको छ ।
लोकशैलीमा तयार पारिएको गीतले दर्शक तथा श्रोताको मन जित्ने विश्वास निर्माण पक्षको छ ।

ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको गीतमा राजनराज सिवाकोटी र मिलन नेवारको स्वर, राजनराजकै शब्द तथा संगीत छ । यो गीतको भिडियोलाई विक्रम स्वारले कोरियोग्राफी गरेका छन् ।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकारद्धय विपिन कार्की र केकीको अधिकारीको साथमा म्युजिक भिडियोमा जमेको जोडी आश्मा विश्वकर्मा र सरोज अधिकारीको नृत्य हेर्न सकिन्छ ।

यो फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । सुदर्शन लभ स्टोरी जमेका निर्देशक हुन् । उनले ‘धन्दा’पछि अर्को सामाजिक कथामा फिल्म बनाएका छन् । फिल्ममा अर्पण थापा, महेश त्रिपाठी लगायतका कलाकारको पनि मुख्य भूमिका छ । राजेश श्रेष्ठको छायांकन रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन छ । सुदर्शन बस्नेतको लगानीमा बनेको फिल्मको प्रस्तुतकर्ता सुभाष थापा हुन् ।