सर्ट फिल्म प्रतिस्पर्धामा उत्कृष्ट सर्ट फिल्मलार्ई २ लाख


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ माघ

म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पसको संयुक्त रुपमा सर्ट फिल्म कम्पिटिसनको आयोजना घोषणा गरेको छ । बिहीबार एक कार्यक्रमबीच यो घोषणा गरिएको हो । बिहीबारबाटै सहभागिताको लागि फारम खुला गरिएको बताईएको छ ।

प्रतिस्पर्धामा सहभागी हुन चाहने फिल्मकर्मीले फागुन ३० सम्म कथासार बुझाउनु पर्नेछ भने चैत १७ भित्र स्क्रिप्ट बुझाउनु पर्नेछ । यसरी आएका स्क्रिप्टलाई निर्णायकद्धारा ३ दिन प्रशिक्षण दिइनेछ र यो पश्चात् पुनर्लेखन गरी आएका स्क्रिप्टमध्येबाट १० स्क्रिप्ट छानेर निर्माण सहायता प्रदान गरिनेछ । छानिका १० फिल्मले निर्माणका लागि ७५ हजार नगद प्राप्त गर्नेछन् । यो प्रक्रियापछि निर्माण भएर आएका फिल्ममध्ये पहिलो बन्नेले २ लाख नगद प्राप्त गर्नेछ भने बाँकी अन्यले विधागत रुपमा नगद पुरस्कार पाउनेछन् । आयोजकका अनुसार स्क्रिप्ट तथा निर्देशनमा उत्कृष्ट हुनेले ५० हजार प्राप्त गर्नेछ भने अभिनय, छायांकन, सम्पादन र ध्वनिमा उत्कृष्ट काम देखाउनेले पनि समान ५० हजार नगद प्राप्त गर्नेछन् ।

सर्ट फिल्म कम्पिटिसिनमा निर्णायकको भूमिका अनुप बराल, सुरक्षा पन्त र सुजित बिडारीले गर्नेछन् । कार्यक्रममा बोल्दै अनुप बरालले सर्ट फिल्मलाई बिरुवाको सानो रुपको रुपमा व्याख्या गर्दै सर्ट लम्बाइको हिसाबले सानो भए पनि सानो बनाउन झन् ठूलो मेहनत लाग्ने धारणा राखेका थिए ।

यस्तै नेपाल फिल्म क्याम्पसका प्रमुख शिशिर उप्रेतीले अवसरको खोजीमा रहेका फिल्मकर्मीका सर्ट फिल्म कम्पिटिसन गतिलो प्लेटफर्म बन्न सक्ने विश्वास व्यक्त गरे । उनले धेरै लगानी गरेर फिल्म बनाउन गाह्रो हुनेका लागि यस्ता प्रतिस्पर्धा वरदान हुनसक्ने भन्दै सहभागिताका आव्हान गरे ।

‘फिचर फिल्म निर्माण निकै महंगो हुने गर्छ तर सर्ट फिल्म थोरै पैसामा पनि बनाउन सकिन्छ । तर हामीले पैसा छैन तर कथा छ भने पनि निर्माणमा हातेमालो गर्न तयार छौँ भन्ने सन्देश दिन यो प्रतिस्पर्धा आयोजना गरेका हौँ,’उनले स्पष्ट पारे ।

सांगीतिक क्षेत्रमा एकनासले राज गर्दै आएको म्युजिक नेपालले संगीतसँगै नेपाली सिनेमाका लागि पनि केही गरौँ भन्ने अभिप्रायले प्रतिस्पर्धाको आयोजनामा हातेमालो गर्न लागेको जानकारी गराए । म्युजिक नेपालको प्रतिनिधिको रुपमा बोल्दै राजीव लोहनीले भने, ‘म्युजिक नेपालले नेपालको संगीत क्षेत्रमा गरेको योगदान सर्व विदित नै छ । हामी दायरा फराकिलो पार्दै फिल्मकर्मीसँग काम गर्न इच्छुक छौँ । यो एउटा सुरुवात हो ।’

कार्यक्रमको अन्त्यमा बोल्दै अभिनेत्री सुरक्षा पन्तले म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पस मिलेर यस्ता कार्यक्रम गर्ने कुरालाई आफूले दुवैले कामको दायरा बढाउने पहलका रुपमा बुझेको बताएकी थिइन् ।

कार्यक्रममा बोल्दै अर्का निर्णायक सुजित बिडारीले यस्ता प्रतियोगिताको महत्व कति हुन्छ भन्ने कुराको आफू भुक्तभोगी भएको बताउँदै यस्ता प्रतिस्पर्धाले भिज्युवल लिटरेसी निर्माण ठूलो योगदान गर्ने धारणा राखेका थिए ।