बैशाखमा ज्याकी आईएम ट्वान्टी वान


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ माघ

केही समय अघि छायाँकन भएको चलचित्र आईएम ट्वान्टी वानको नाम केही परिवर्तन गरी टाईटल सार्वजनिक गरिएको छ । यो चलचित्रको नाम अब ज्याकी : आईएम ट्वान्टी वान हुनेछ । यो चलचित्रलाई आगामी बैशाखमा रिलिज गरिने निर्माण संस्थाले जनाएको छ ।

बिहिबार सरस्वती पूजाको अवसर पारेर निर्माण कम्पनि आइकोर फिल्म्सको युट्युब च्यानलबाट टाइटल भिडियो सार्वजनिक गर्दै घोषणा गरिएको हो ।

रेनशा राई राणाले निर्देशन गरेको सिनेमाको नाम यस अघि ‘आइएम ट्वान्टी वान’ तय गरिएकोमा यसले लक्षित उमेरका लागि मात्र दर्शाएको छ । यो नाम प्रमुख चरित्र केन्द्रित नहुने भएकाले शिर्षकमा ‘ज्याकी’ थपिएको निर्देशक राणाले जानकारी दिइन ।

भिडियोमा धिरज ज्याकीको भूमिकामा रहने प्रष्ट पारिएको छ । सिनेमामा धिरजसंगै जसिता गुरुङ र अरुण क्षेत्रीपनि मुख्य भूमिकामा छन् । निर्माण पक्ष चाँडै नै फस्टलुक सार्वजनिक गर्ने तयारीमा रहेको छ ।सुसन प्रजापतिको छायांकन रहेको सिनेमामा रोहित शाक्य र कालीप्रसाद बाँस्कोटाको संगीत रहेको छ ।

प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराले निर्माण गरेको सिनेमा बैशाख २१ मा रिलिज हुने सम्भावना छ । तर निर्माण पक्षले आधिकारिक मिति घोषणा गरिसकेको छैन ।

कोरोना महामारीको समयमा छायांकन गरिएको ‘ज्याकीस् आइएम ट्वान्टी वान’ रेनशाको दोस्रो निर्देशकीय सिनेमा हो । एक सफल कोरियोग्राफरहुँदै ‘इन्टु मिन्टू लण्डनमा’बाट निर्देशनमा हात हालेकी रेनशा लगातार दोस्रो हिट दिने दाउमा छिन ।