किरण खरेललाई ५१ हजारसहित लाइफटाइम अचिभमेन्ट सम्मान


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ असोज

म्यूजिक तथा इन्टरटेनमेन्ट प्रालिको आयोजनामा भएको ए.एम.एस नेशनल अनर एण्ड अवार्ड २०७९ भव्य रुपमा सम्पन्न भएको छ । उपराष्ट्रपति नन्द बहादुर पुनको प्रमुख आतिथ्यतामा होटल हायत रिजेन्सीमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रतिष्ठित गीतकार किरण खरेललाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो । गीतकार खरेललाई रु.५१ हजार नगद राशिसहित सम्मान अर्पण गरिएको हो । त्यसैगरी विशिष्ट निर्देशक, कलाकार नीर शाह र विशिष्ठ अभिनेता शिव श्रेष्ठलाई रु.२१ हजार नगद राशिसहित विशिष्ठ सम्मान अर्पण गरिएको थियो ।

गायक उर्गेन दोङ र गायिका रेश्मा पुन उत्कृष्ट आधुनिक गायक गायिका हुन सफल भए । गायक दोङले टाढा भए पनि गीतबाट अवार्ड चुम्न सफल भएका थिए भने गायिका रेश्मा पुनले केशरी गीतबाट अवार्ड चुम्न सफल भएकी थिइन् । त्यसैगरी लोकदोहोरी तर्फ गायिका शान्तिश्री परियार र गायक प्रकाश सपुत उत्कृष्ट गायक गायिका घोषित भए । गायिका परियारले चौका दाउ गीतबाट अवार्ड चुमेकी हुन् भने गायक सपुतले यो देश हाम्रो पनि होइन र गीतबाट अवार्ड चुम्न सफल भएका थिए ।

त्यसैगरी गायक शिव परियार र गायिका मिलन नेवार वर्षको पपुलर गायक गायिका हुन सफल भए । त्यस्तै लोकदोहोरीतर्फ गायिका देवी घर्ती र गायक रामजी खाँड पपुलर गायक गायिका घोषित भए भने निर्देशक प्रकाश भट्ट पपुलर निर्देशक ठहरिए ।

त्यसैगरी चलचित्रतर्फबाट गायक प्रताप दास र गायिका प्रविशा अधिकारी चलचित्र प्रेम गीतको हर युग गीतबाट उत्कृष्ट गायक गायिका घोषित भए । त्यस्तै अर्जुन पोखरेल सम्हालिन्छ कहिले मनको जरुरी कुरा छ बाट उत्कृष्ट संगीतकार घोषित भ एभने म यस्तो गीत गाउँछु चलचित्रको पीडा भए पनि गीतबाट दिग्गज द्यौराली उत्कृष्ट गीतकार घोषित भए ।

ए.एम.एस. अनर एण्ड अवार्ड एक विशेष र फरक प्रकृतिको सम्मानको कार्यक्रम भएको अवार्डकी अध्यक्ष सत्यकला लामा तामाङले बताइन् । सम्पूर्ण कला जगतको प्रतिनिधिमूलक अवार्डका रुपमा लिएको बताउँदै अध्यक्ष सत्यकलाले समाजमा भइरहेका भन्दा फरक तरिकाले प्रस्तुत हुने र कला क्षेत्रमा विशेष योगदान पु¥याउनुहुने स्रष्टा कलाकारको सम्मानमा यो अवार्डको आयोजना गरिएको बताइन् । अवार्डको निर्णायक मण्डलमा गीतकार सुमन बैरागी र निर्देशक माधवराज खरेल रहेका थिए । कार्यक्रमको व्यवस्थापकका रुपमा गायक संगीतकार सुभास प्रधान रहेका थिए भने कार्यक्रमको व्यवस्थापन मिडिया मन्त्रका अध्यक्ष विकास लामिछानेले गरेका थिए ।

समाजको विभिन्न क्षेत्रमा योगदान पु¥याउनुहुने विशिष्ठ व्यक्तित्वलाई सम्मान र चर्चा एवं लोकप्रियता हासिल गर्नुभएका स्रष्टा र सिर्जनालाई अवार्ड प्रदान गरेर सम्मान एवं हौसला प्रदान गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सम्मान र अवार्डको कार्यक्रमलाई विशेष रुपमा प्रस्तुत गरिएको र आगामी दिनमा विदेशमा पनि यो कार्यक्रमको आयोजना गर्ने बताइएको थियो । कार्यक्रमको संचालन संचारकर्मी नरेश भट्टराई र सेसेमी लिम्बूले संचालन गरेका थिए ।