महापुरुषको दोस्रो गीत बेमौसमी


ब्युटी न्यूज नेपाल
काठमाडौं, ४ असोज

आगामी कार्तिक ११ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘महापुरुष’ को दोस्रो गीत ‘बेमौसमी’ सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक गीतको भिडियोमा हरिवंश आचार्य, गौरी मल्लसँगै डेब्यु कलाकार अरुण क्षेत्री र अञ्जना बराईली फिचर्ड छन् ।

गीतमा राम अविरल विष्टको शब्द तथा एसडी योगीको संगीत र स्वर रहेको छ । प्रेमिल भावना अभिव्यक्त गीतमा दुई पुस्ताको प्रेम देखाइएको छ । विवेक रसाइलीले निर्देशन गरेको गीतमा पुरुषोत्तम प्रधानको छायांकन छ ।

कार्यक्रममा बोल्दै अभिनेता हरिवंशले अहिले बजारले खोजिरहेको फिल्म ‘महापुरुष’ रहेको बताए । ‘अहिले बजारले व्यावसायिकता र कलात्मक दुवै भएको फिल्म हेर्न खोजिरहेका छन् । यो फिल्मले दर्शकलाई पूर्ण मनोरञ्जन दिनेछ’ कलाकार आचार्यले भने ।

‘गीत छायांकन गर्दा धेरै रमाइलो भयो । यो अव्यक्त हाम्रो उमेर समूहको व्यक्तिको कथा पनि भन्न सकिन्छ । केहीले यसलाई व्यक्त गर्नुहुन्छ भने केहीले भन्न सक्नु हुँदैन । यो कथाले हरेकलाई छुन्छ’ अभिनेता आचार्यले भने ।

निर्देशक प्रदीप भट्टराईले गीतमा बा र छोराको प्रेम सन्दर्भलाई प्रस्तुत गरिएको बताए । ‘हामीले यसमा समाजको गम्भीर विषयवस्तुलाई सरल किसिमले प्रस्तुत गरेका छौं । अघिल्लो फिल्मको तुलनामा यहाँसम्म आइपुग्दा झनै दायित्वबोध भएको छ’, उनले भने ।
अभिनेत्री गौरीले फिल्म ‘लोभीपापी’ पश्चात दोस्रो पटक हरिवंशसँग स्क्रिन शेयर गरेको बताइन् ।

सामाजिक विषयवस्तुमा आधारित फिल्ममा मदनकृष्ण र हरिवंशसँगै गौरी मल्ल, अरुण क्षेत्री, अन्जना बराईली, रविन्द्रसिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, पण्डित प्रज्वल लुइँटेललगायतको अभिनय छ ।

षट्कोण आर्ट्सको व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् ।