ब्युटी न्युज नेपाल
सुर्खेत, १५ असार

पछिल्लो समय नेपाली फिल्ममा भारतीय कलाकारलाई अभिनय गराउने क्रम बढिरहेको छ । यसै क्रममा अभिनेत्री नीता ढुँगानाले निर्माण गर्ने फिल्म ह्रस्व दीर्घमा चर्चीत दक्षिण भारतीय कलाकार ब्रहमानन्दम अनुबन्धित भएका छन् । चन्द्र पन्तको निर्देशनमा बन्ने नेपाली फिल्ममा ब्रहमानन्दम खेल्न राजी भएका हुन् । उनलाई सबै कलाकारको दाँजोमा सर्वाधिक महंगो पारिश्रमिकमा फिल्ममा अनुबन्ध गराएको निर्माण टिमले बताएको छ । निर्देशक पन्तले उनिसँग सम्झौता गरेका छन् ।

नीता फिल्मस् को ब्यानरमा निर्माण हुन लागेको फिल्म ’ह्रस्व दीर्घ’ घोषणाको क्रमदेखि चर्चामा छ । अभिनेत्री नीता ढुङ्गानाले पहिलो पटक होम प्रोडक्सनबाट निर्माण गर्न लागेको फिल्ममा नीतासँगै ज्योतिषी अभिनेता हरिहर अधिकारी मुख्य भुमिकामा रहनेछन् । यो जोडीले घोषणा गरेको फिल्ममा अरु पनि भारतका कलाकारहरु अनुबन्ध भएका छन् ।

हास्य प्रधान अभिनयबाट चर्चित कलाकार ब्रहमानन्दम संसारकै सर्वाधिक धेरै फिल्म खेल्ने (ठुलोपर्दामा देखिने) जीवित कलाकारको गिनिज वर्ल्ड रेकर्ड होल्डर हुन् । तामिल र तेलुगु भाषामा मध्य ८० को दशकदेखि बन्दै आएका प्रायः फिल्ममा उनले लगातार आफ्नो जबरजस्त उपस्थिति देखाउँदै आएका छन् । उनले दक्षिण भारतका स्टार ट्याग पाएका प्रायः सबैजसो अभिनेतासँग काम गरिसकेका छन् । पछिल्लो समय उनि सर्वाधिक धेरै अल्लु अर्जुन स्टारर फिल्ममा देखिँदै आएका थिए । ब्रहमानन्दम नेपाली दर्शकमाझ पनि भारतबाट सर्वाधिक लोकप्रिय कमेडी कलाकारमा पर्छन् ।

ब्रहमानन्दमले धेरै फिल्म अभिनयको गिनिज रेकर्ड समेत कायम गरिसक्दा सन् १९९९ मा अमिताभ बच्चनसँग ’सुर्यवंसम्’ गरेयता बलिउडका समेत कुनै फिल्ममा खेल्न तयार भएका छैनन् । पछिल्लो क्रममा भारतको मुलधारको फिल्मलाई दक्षिण भारतीय फिल्मले आच्छु आच्छु पार्दै आएका छन् । त्यसको प्रभाव नेपालमा पनि देखिँदा नीता फिल्मस् ले दक्षिण भारतीय कलाकारहरुमाथि आँखा लगाएको सहजै अनुमान लगाउन सकिन्छ । ब्रहमानन्दमको उपस्थितिले आफ्नो कास्टिङ लाइनअप मजबुद बनाएको नीताले बताइन् ।

यसअघि यो फिल्ममा सुप्रसिद्ध भारतीय कलाकार (पुष्पाका ‘सिनुभाई’) सुनिल वर्मा, स्टार अभिनेता गजिनी भिलेन प्रदीपराज रावत, दक्षिण भारतका चर्चित कमेडी एक्टर ’अली’समेत अनुबन्धित भइसकेका छन् । फिल्मलाई वलिउड सिनेमाटोग्राफर कवीरलालले खिच्ने पक्का भइसकेको छ ।

नेपाल र भारतमा खिचिने ’ह्रस्व दीर्घ’मा धनन्जय घलानी कास्टिङ डाइरेक्टर छन् । यो फिल्ममा सरोज खनाल र सलोन बस्नेत पनि मुख्य कलाकार हुन् । फिल्मको हाल स्कृप्ट लक भएसँगै प्रि–प्रोडक्सन काम चलिरहेको निर्देशक पन्तले बताए । दशैंपछाडि असोज महिनाबाट फिल्म फ्लोरमा जाने बताइएको छ । यो फिल्मलाई संसारकै ठुलो फिल्म सिटी ’रामोजी स्टुडियो’मा छायांकन गरिने समेत निर्माण टिमले सार्वजनिक गरिसकेको छ ।