सरिता भारती/ब्युटी न्युज नेपाल
काठमाडौं, १२ असार

नेपाली चलचित्रकर्मीहरु आफैं एक जुट हुन नसकेकै कारण नेपाली चलचित्र क्षेत्रले विभिन्न समस्या झेल्नु परेको चलचित्रकर्मीले बताएका छन् । चलचित्र विकाश बोर्डको सहकार्यमा नेपाल चलचित्र कलाकार संघले आईतबार काठमाडौंमा आयोजना गरेको ‘नेपाली चलचित्र क्षेत्रको समस्या र चलचित्रकर्मीहरुको अबस्था’ शिर्षकमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा उनीहरुले यस्तो भनाई राखेका हुन् ।

सो कार्यक्रममा चलचित्र कलाकार संघका उपाध्यक्ष एवम् बरिष्ट चलचित्र कलाकार मोहन निरौला र बरिष्ट पत्रकार शान्तिप्रियले सम्बन्धित विषयमा अवधारणपत्र प्रस्तुत गरेका थिए ।

सो अवधारणपत्रमाथि गीतकार तथा पत्रकार डब्बु क्षेत्री, पत्रकार कृष्ण भट्टराई, अधिवक्ता एवम कलाकार कृष्ण ढुँगाना र संगीतकार सन्तोष श्रेष्ठले टिप्पणी गरे ।

 

गीतकार तथा पत्रकार क्षत्रीले चलचित्र क्षेत्रमा निर्माण प्रदर्शन र वितरण गरी तीन वटै पक्षमा समस्या भएको र यी समास्यालाई एक एक गरेर क्रमश समाधान गर्दै जानु पर्छ भने ।

अर्का पत्रकार कृष्ण भट्टराईले कार्यपत्रमा धेरै समस्या उठान गरिएको तर त्यसको समाधान नखोजिएको बताउँदै उनले समाधानका लागि केही सुझाब पनि दिए ।

अधिवक्ता एवम चलचित्र कलाकार कृष्ण ढुँगानाले चलचित्र विकाश बोर्ड स्वयत्त तुल्याउन, चलचित्र विधेयकलाई कानूनको रुपमा तत्काल ल्याउन सुझाब दिए । उनले अवधारण पत्रमा समेटिएको समस्यालाई क्रमस समाधान गर्न पनि सुझाब दिए । संगीतकार सन्तोष श्रेष्ठले अवधारणापत्रमाथि टिप्पणी गर्दै त्यसमा रहेका कमजोरी केलाएका थिए ।


नेपाल चलचित्र संघका अध्यक्ष रविन्द्र खड्काको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष दयाराम दाहालले नेपाली चलचित्रको समस्या चलचित्रकर्मी आफैं भएको बताए । चलचित्रकर्मीहरु एक हुन नसकेर विभिन्न समस्या आएको उनको कथन थियो । यस्तै बिदेशी चलचित्र नेपालमा देखाएर त्यसको कर उठाएर नेपाली चलचित्रको विकाश गर्नु पर्ने अनिवार्यता नहटेसम्म नेपाली चलचित्रको विकाश नहुने उनको टिप्पणी थियो ।

नेपाल चलचित्र संघका पूर्व अध्यक्ष प्रदीप कुमार उदयले पनि अवधारणपत्र माथि टिप्पणी गर्दै नेपाली चलचित्र उधोगको विकाशका लागि सरकारले आबस्यक बजेट छुट्याउनु पर्ने सुझाब दिए । बिदेशी फिल्म देखाएर त्यसबाट पैसा उठाएर नेपाली चलचित्रको विकाश गर्नु भनेको बिदेशी चलचित्रलाई नेपालमा अझ स्थापित गराउनु हो भन्न उनी पछि परेनन् । नेपाली चलचित्र उधोगलाई बचाउन अब नेपाली कलाकार र प्राविधिक नै अघि सर्नु पर्ने पनि उनले सुझाब दिए ।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले सेलिब्रेटी भनिएका कलाकारबाट आफुहरुले कत्ति पनि साथ नपाएको दुखेसो पोखे । कलाकार संघलाई बिदेश जान सिफारिस लिनको लागि मात्र सेलिब्रेटी कलाकारले प्रयोग गरेको टिप्पणी उनको थियो । चलचित्र उधोगको समस्या समाधानका लागि आफुहरुलाई सबैले साथ दिन उनले आग्रह गरे ।

चलचित्र विकाश बोर्डका सदस्य सचिव टंक महतले विकास बोर्डले समग्र चलचित्र उद्योग र चलचित्रकर्मीहरूको उत्थानका लागि काम गरिरहेको बताए । उनले नकरात्मक भन्दा सकरात्मक भएर अघि बढ्न सबैलाई आग्रह गरे ।

फिल्म सोसाईटी नेपालका अध्यक्ष कृष्ण मल्लले पनि चलचित्रकर्मीहरुको एकतामा जोड दिए । नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले राष्ट्रिय चलचित्र नीतिलाई कार्यन्वयन गर्नमा जोड दिए । यस्तै नेपाल चलचित्र निर्देशक समाजका महासचिब जनकदीप पराजुलीले अहिलेको चलचित्र नीति सच्याएर अघि बढ्न सुझाब दिए ।

कार्यक्रममा चलचित्रकर्मी मोहन निरौलाले संचारकर्मी शान्ति प्रियसँगको सहकार्यमा तयार पारेको अवधारणा पत्र समेत बाचन गरेका थिए । कार्यक्रममा अवधारणपत्र माथि गरिएका टिप्पणीलाई समेटेर पुन लेखन गर्दै यसलाई सम्बन्धित निकायकोमा बुझाउने उनले बताए ।