अष्ट्रृृेलियाबाट नेपाली संगीतलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउँदै गायक रमण रेग्मी


ब्युटी न्युज नेपाल
काठमाडौं, १० बैशाख

काठमाडौं– नयाँ वर्ष २०७९ लाई स्वदेशमात्र होइन, विदेशमा पनि भव्यतापूर्वक स्वागत गरिएको छ । अष्ट्रेलियामा त नेपाली नयाँ वर्षलाई स्वागत गर्नका लागि एउटा औपचारिक कार्यक्रम नेपाली नयाँ वर्ष धमाका आयोजना गरियो । उक्त नेपाली कार्यक्रममा अष्ट्रेलियाका इमिग्रेसन, सिटिजनसिप, माइग्रेन्ट सर्भिसेस तथा मल्टिकल्चरल अफेयर्स मन्त्री एलेक्स हवक नै उपस्थित भए, प्रमुख अतिथिको रुपमा ।

कार्यक्रममा नेपाली गायक रमण रेग्मीसहितका कलाकारहरुले नेपाली संस्कृति झल्किने शैलीका नेपाली गीत–संगीत प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागि मन्त्री त्यो बेला मुग्ध देखिए, जब उनलाई नेपाली संगीतकर्मी रमण रेग्मीले आफ्नो नेपाली गीतलाई अंग्रेजीमा अनुवाद गरेर सुनाए । कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरु पनि थिए, तर गायक रमण रेग्मीको सांगीतिक प्रस्तुतिलाई भने उपस्थित सबैले विशेष माने ।

नेपाली गीत–संगीतलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउनका लागि सक्रिय भैरहेका कलाकार हुन् रमण रेग्मी । करिव डेढ दशकदेखि अष्ट्रेलियामा बसोबास गर्दै आइरहेका गायक रमण रेग्मी विदेशमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा सक्रियतापूर्वक लागिरहेका छन् । अष्ट्रेलियाका विभिन्न शहरहरुमा आयोजना हुने सांगीतिक कार्यक्रममा सहभागि भएर आफ्ना सिर्जनाहरु प्रस्तुत गरिरहने रमण रेग्मी नेपाली चाडपर्वहरुमा आयोजना गरिने सांगीतिक कार्यक्रममा समेत आफ्नो प्रस्तुति दिइ नै रहेका हुन्छन् ।

काभ्रे जिल्लामा जन्मिएर काठमाडौंको कोटेश्वरमा हुर्किएका रमण रेग्मी डेढ दशकअघि अध्ययनका लागि अष्टेलिया प्रस्थान गर्नुअघि देखि नै नेपाली सांगीतिक क्षेत्रमा सक्रिय भैसकेका थिए । बाल्यकालदेखि नै उनी नारायण गोपाल, फत्तेमान, भक्तराज आचार्य आदि सांगीतिक क्षेत्रका लिजेण्डहरुका गीतहरु मन पराउँथे, स्कूल तथा कलेजहरुमा आयोजना हुने सांगीतिक कार्यक्रमहरुमा उनीहरुकै गीत गाउँथे ।

२३ वर्षअघि अर्थात २०५६ सालमै डोरेमी संगीत पाठशालामा सांगीतिक गुरु गुरुदेव कामतसंग केही वर्ष संगीतको प्रशिक्षण लिएका रमण रेग्मीले त्यसपछि संगीतकर्मी ईश्वर अमात्यसंग शास्त्रीय संगीतको शिक्षा समेत लिए । सुमधुर स्वरका धनी गायक रामकृष्ण ढकाललाई उनी आफ्ना अभिभावक नै मान्छन् । गायक ढकाललाई आफ्ना दाजु झैं आदर र सम्मान गर्ने गायक रमण रेग्मी ढकालका गीत तथा उनको जीवन कथाले आफूलाई पनि गायक बन्न प्रेरणा मिलेको बताउँछन् ।

वि.सं. २०५५–५६ सालदेखि संगीतको औपचारिक प्रशिक्षण लिन थालेपछि उनी सांगीतिक क्षेत्रमा सक्रियतापूर्वक सहभागि भए । डोरेमी संगीत पाठशालाबाट करिव तीन वर्षको औपचारिक प्रशिक्षण लिएपछि गायक रेग्मीले आफ्नो सांगीतिक करियरकै पहिलो एल्बम ‘विवशता’ सार्वजनिक गरे । पहिलो एल्बम सार्वजनिक गरे पनि त्यसले खासै चर्चा पाउन नसक्दा उनी केही निराश समेत बने । २०६४ सालमा उनले आफ्नो दोस्रो एकल गीति संग्रह ‘समर्पण’ बजारमा ल्याए । सुगम संगीतमा आधारित गीतहरुको उक्त एल्बममा गायक रेग्मीले आफ्नो स्वरका नौ वटा गीतहरु समावेश गरेका थिए ।

‘समर्पण एल्बममा मैले नेपालका स्थापित गीतकार तथा संगीतकारहरुको साथ पाएको थिएँ, गायक रेग्मी भन्छन्–‘ क्षेत्रप्रताप अधिकारी, भुपेन्द्र खड्का, पुष्पलता आचार्य, देवदत्त भट्ट, डा. राजुबाबु श्रेष्ठ, सुरेश अधिकारी जस्ता दिग्गज गीतकारका शब्द तथा सुरेश अधिकारी, लक्ष्मण शेष, शुभ बहादुर, बिक्रम थापा, राजु सिंह र साम बेद जस्ता वरिष्ठ संगीतकारहरुको संगीतमा गीत गाउने मौका पाएको थिएँ ।’

दोस्रो एल्बमको ‘हुन्छ नि वैंशमा मुटु साटौं लाग्ने…’ बोलको गीतले आफूलाई सांगीतिक क्षेत्रमा चिनाएको गायक रेग्मीको भनाइ छ । उक्त गीतमा भूपेन्द्र खड्काका शब्द तथा राजु सिंहको संगीत निर्देशन छ ।

भाग्य लहर मा लहरी लहरी भने झैँ म मेरो समर्पण एल्बम निस्किने बित्तिकै सन् २००७ मा उच्च शिक्षाका लागि अष्टेलिया आएँ, गायक रेग्मी भन्छन्– ‘विदेशमा आए पनि मेरो मनबाट नेपाली संगीतप्रतिको लगावमा कहिले पनि कमि आएन । विदेशमा भए पनि नेपाली संगीतप्रतिको माया–मोह रत्तिभर घटेन ।’

त्यसैको फलस्वरुप गायक रेग्मीले सन् २०१४ मा तेस्रो एकल एल्बम ‘इन्स्पिरेशन’ सार्वजनिक गरे । उनी अष्ट्रेलियामै रहेर नेपाली बजारमा उक्त एल्बम सार्वजनिक गराएका थिए । उक्त एल्बममा जम्मा ५ वटा गीत समावेश गरिएको थियो । उक्त एल्बमका लागि उनले एउटा पुरानो लोकप्रिय गीत ‘घर त लगनखेल’लाई रिमेक गर्ने मौका पाएका थिए । ’घर त लगनखेल…’ गीतले निकै चर्चा पायो, यो गीत लोकप्रिय नै भयो भन्दा फरक पर्दैन । गायक रेग्मीले उक्त एल्बम बिक्रि भएर संकलन भएको रकममध्ये ५० प्रतिशत रकम पवित्र सेवा समाजलाई हस्तान्तरण गरे ।

अष्ट्रेलियामा आफ्नो अध्ययन, कामबाट बचेको सम्पूर्ण समय उनी नेपाली गीत–संगीतलाई नै दिइरहेका छन् । ‘स्थानीय नेपाली कार्यक्रममा समयले भ्याएसम्म आफ्नो प्रस्तुति दिँदै आएको छु । नेपाली दाजुभाइ, दिदी बहिनी तथा नेपालमा नेपाली कलाकारहरुलाई अफ्ट्यारो परेको बेला, उहाँहरु बिरामी पर्दा सकेसम्मको आर्थिक सहयोग पनि जुटाउँदै पठाउँदै आइरहेको छु ।’ गायक रेग्मी नेपाली गीत–संगीत अनि कला र संस्कृतिलाई अन्तर्रास्ट्रियस्तर मा चिनाउनका लागि लागिपरेको बताउँछन् ।

गायक रमण रेग्मीले अहिलेसम्म तीन वटा एकल गीति संग्रह तथा ५० वटा भन्दा बढी नेपाली गीतहरु रेकर्ड गराइसकेका छन् । उनी गायनसंग–संगै नेपालबाट नेपाली कलाकारहरुलाई अष्ट्रेलिया पुर्याएर सांगीतिक कार्यक्रम आयोजना समेत गर्दै आइरहेका छन् । विगत १५ वर्षदेखि विदेशी भूमिमा रहे पनि नेपाली गीत–संगीत गाउन भने छोडेको छैन, गायक रेग्मी भन्छन्– ‘करिव ६ महिनादेखि एक वर्षको अन्तरालमा एउटा नयाँ नेपाली गीत नेपाली दर्शक तथा श्रोतामाझ पस्किँदै आइरहेको छु । भविष्यसम्म पनि यो क्रम जारी नै रहने छ ।’

यति मात्र होइन, गायक रेग्मीले सन् २०२० मा अस्ट्रेलियाको सिड्नीमा आयोजित दक्षिण एशियाका सात वटा देशका गायक–गायिकाहरुले सहभागिता जनाएको सफल फिस्ट नामक गायन प्रतियोगितामा गायनतर्फ दोश्रो स्थान हासिल गर्न सफल भएका थिए ।

गायक रमण रेग्मीले स्वदेशमा नेपाली कलाकारहरुलाई अफ्ट्यारो पर्दा आर्थिक सहयोग गर्दै आएका छन् । गायक रेग्मीले कलाकार शुलेमान शंकर ईकुले सञ्चालन गरेको बाल आश्रमको पानी प्रशोधन प्लान्टका लागि नगद ५० हजार रुपैयाँ सहयोग गरेका थिए । गायक रेग्मीले आफ्नो तेस्रो एकल एल्बम इन्स्पिरेशनको बिक्रिबाट संकलन भएको रकममध्ये ५० प्रतिशत रकम पवित्र सेवा समाजलाई हस्तान्तरण गरेका थिए । गायक रेग्मीले दिवंगत अभिनेत्री निशा घिमिरेको उपचारका लागि समेत आर्थिक सहयोग पठाएका थिए ।

गायक रमण रेग्मीले विश्वको जुनसुकै कुनामा रहेर पनि नेपाली गीत–संगीत क्षेत्रमा योगदान पुर्याउन सकिन्छ भन्ने कुरालाई प्रमाणितमात्र गरेका छैनन्, विदेशमा रहेर नेपाली गीत–संगीतको प्रवद्र्धनसमेत गर्न सकिन्छ भन्ने कुरालाई पनि प्रमाणित गर्दै आएका छन् ।