आधा दर्जन कलाकारको स्वरमा ‘खुशीको खुराक’


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ बैशाख

आधा दर्जन कलाकारको स्वर समेटेर गीतकार वीरेन्द्र पाठकले आफ्नो एकल रचनामा नयाँ गीतिसँग्रह खुसीको खुराक श्रोतामाझ ल्याएका छन् ।

इमेज एफएमबाट प्रत्यक्ष कार्यक्रम गर्दै ‘खुशीको कुराक’लाई गीतकार तथा संचारकर्मी नरेश भट्टराई, संचारकर्मी कृष्ण आचार्य, गीतकार तथा संचारकर्मी सुमन पण्डित, गीतकार पाठक र संगीतकार मास्केले संयुक्त लोकार्पण गरेका हुन् ।

संग्रहमा ६ वटा गीतहरु छन् । जसमा प्राज्ञ सुनिल मास्केको एकल संगीत छ । एल्बमलाई शुभकामना मिडिया सोलुशनले बजार व्यवस्थापन गरेको हो ।

यो गीतिसँग्रहमा मन पर्ने मायालाई, खुशीको खुराक, कहिले मन पर्यो, आँधीबेहरीले उडायो, केश कोर्यो जस्ता गीतहरु समावेश गरिएको छ । जसमा गायिका मिलन नेवार, राज सिग्देल, विश्व नेपाली, शिव परियार, रचना रिमाल, सुरेश लामाको स्वर रहेको छ । गीतहरुलाई प्रदीप श्रेष्ठ, रिकेश गुरुङ र दिक्षित पौडेलले संगीत संयोजन गरेका छन् ।

गीतिलेखनमा चार दशक पार गरिसकेका गीतकार वीरेन्द्र पाठकको आधा दर्जनभन्दा बढी एल्बम बजारमा ल्याइसकेका गीतकार पाठकका एक सयभन्दा बढी गीतहरु रेकर्ड भइसकेका छन् ।