ट्रेलरमा देखियो पूजा र आकाशको वान साइड लभ


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ बैशाख

चलचित्र ‘सम्झना–बिर्सना’ को ट्रेलर सार्वजनीक गरिएको छ । पूजा शर्मा र आकाश श्रेष्ठ अभिनीत फिल्म यो फिल्मको ट्रेलर बुढासुब्बा डिजिटलमार्फत दर्शकमाझ ल्याइएको हो । तीन मिनेट लामो ट्रेलरमा कमेडी,लभ,रोमान्स,सेन्टिमेन्टस् तथा सस्पेन्सको समीश्रण देखिन्छ ।
निमेष प्रधान निर्देशीत फिल्मलाई अद्वितिय प्रधान र रेविका प्रधानले निर्माण गरेका हुन् । जेठ ६ गते प्रदर्शन हुने फिल्ममा पूजा र आकाशका साथमा सुनील थापा,छुल्ठिम गुरुङ,शिसिर राणालगायतका कलाकारले अभिनय गरेका छन् । दार्जिलिङ,सिल्गुडी तथा सिक्कीमका बिभिन्न रमणीय स्थानमा खिचिएको फिल्मको कथा र पटकथा निर्देशक निमेषकै हो भने सम्वाद लेखनमा उनलाई शिसिर राणाले सघाएका छन् ।

दर्शकहरुले औधि मन पराएको पूजा र आकाशको जोडीलाई दर्शकले एउटै फिल्ममा हेर्न नपाएको धेरै भएको छ । अधिकांश दर्शकले उनीहरुलाई सँगै भएको हेर्न चाहेका छन् । सोही सन्दर्भमा केही दिनअघि सार्वजनीक यो फिल्मको ‘परेलीमा’ बोलको गीतले पनि दर्शक स्रोताको मन जितिरहेको छ । ट्रेलरले त फ्यानहरुमा अझै खुशीयाली ल्याउने बिश्वास निर्माण पक्षको छ । पछिल्लो समय उनीहरु बीच सम्बन्ध चिसिएको हल्ला चलीरहेको छ । ट्रेलरमा पनि पूजा र आकाशबीचको सम्बन्धमा असमझदारी भएको झलक देखाइएको छ,जुन कुरा उनीहरुको वास्तविक जीवनसँग मेल खान गएको छ । तर,कतिपयले भने ‘सम्झना–बिर्सना’ ले यी दुईको पुनः मिलाप गराउने अनुमान समेत गरेका छन् ।

आदित्य फिल्म्स्को प्रस्तुति रहेको ‘सम्झना बिर्सना’ शिब ढकालले खिचेका हुन भने सम्पादन तारा थापा ‘किम्भे’ ले गरेका छन् । फिल्मका गीतमा राजन इशान, सुदर्शन तामाङ र निर्देशक निमेषकै संगीत छ । कमल राईको कोरियोग्राफी रहेको फिल्मलाई आरआर फिल्मस्ले बितरण गर्दैछ ।