नेपाल भाषाको ‘छन्त नापलाय् सातक’ बिमोचित


ब्युटी न्युज नेपाल
काठमाडौं २ बैशाख

संगीतकार जुगल डँगोलको एकल संगीत, गीतकार राजु मानन्धरको एकल रचना र सज्जु मानन्धरको एकल स्वर रहेको नेपाल भाषाको गीति तथा म्युजिक भिडियो सँग्रह ‘छन्त नापलाय् सातकी’ श्रोता दर्शकमाझ आएको छ ।

दुई दशक अघि नेपाली पप गीतिसँग्रह रागिनी सँयुक्त रुपमा बजारमा ल्याएका जुगल, सज्जु र राजुले यसपटक नेपाल भाषाको यो गीतिसँग्रह बजारमा ल्याएका हुन् ।

शुक्रबार काठमाडौंमा एक समारोहबीच यो गीतिसँग्रहको जनकवि दुर्गालाल श्रेष्ठले बिमोचन गरेका छन् । कार्यक्रममा बोल्दै जनकवि श्रेष्ठले सँग्रहका गीतहरु उत्कृष्ट रहेको बताए । अहिलेको पुस्ताले मन पराउने आधुनिक भावका गीतहरु यसमा रहेको तथा ती गीतमा सँगीत निकै माधुर्य भएको पनि उनले कार्यक्रममा बताए ।

सो गीतिसँग्रहबारे कार्यक्रममा काठमाडौंका सांसद जीवनराम श्रेष्ठ, अग्रज गायक जुजुकाजी रन्जित, पत्रकार बिजयरत्न तुलाधरलगायतले आफ्नो भनाई राख्दै सँग्रहका गीतहरु उत्कृष्ट छन् भने ।

यो सँग्रहमा ६ वटा गीत रहेको यसका संगीतकार जुगल डँगोलले बताए । अहिलेको युवा पुस्ताले मन पराउने आधुनिक शैलीका गीतहरु यो सँग्रहमा समेटिएको पनि उनले कार्यक्रममा जानकारी गराए ।

यस्तै गायक सज्जु मानन्धरले आफ्नो गीतबारे जानकारी गराए । उनलाई यो सँग्रहका गीतमा लोकप्रिय गायिका निशा देशार र अर्की गायिका रत्न शोभा महर्जनले एक/एक वटा गीतमा साथ दिएका छन् ।

सँग्रहमा रहेका ६ वटै गीतको भिडियो पनि कार्यक्रममा प्रदर्शन गरियो । यी भिडियोलाई हाईलाईट्स नेपाल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।