ब्युटी न्युज नेपाल
काठमाडौं, २७ चैत्र

चलचित्र सम्झना बिर्सनाको छायाँकनका क्रममा निकै निकट भएका अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पुजा शर्मा पछिल्लो समय केही टाढा भएका छन् । यी दुईलाई फेरी चलचित्र ‘सम्झना–बिर्सना’ले जोड्नो विश्वास यी फिल्मका निर्माताहरुको छ ।

यसै क्रममा यो चलचित्रको ‘परेलीमा..’ शिर्षकको रोमान्टिक गीतको भिडियो सार्वजनीक गरिएको छ । निमेष प्रधानको निर्देशीत फिल्मको गीत आइतबार राजधानीमा प्रेसमिट गरि प्रदर्शन गरिएको हो । दार्जिलिङका रमणीय स्थलहरुमा खिचिएको गीतमा अञ्जु पन्त र निर्देशक निमेषको स्वर छ । पूजा र आकाश फिचर्ड गीतको शब्द र संगीत पनि निर्देशक निमेषकै हो ।

आरआर फिल्मस्ले बितरण गर्ने फिल्ममा पूजा र आकाशका साथमा सुनील थापा,शिसिर राणा, छुल्ठिम गुरुङलगायतका कलाकारले अभिनय गरेका छन् । दार्जिलिङ,सिल्गुढी तथा सिक्कीमका रमणीय स्थानमा खिचिएको फिल्मको कथा र पटकथा निर्देशक निमेषकै हो भने सम्वाद लेखनमा उनलाई शिसिर राणाले साथ दिएका छन् ।

०७९ को जेठ ६ गते प्रदर्शन हुने फिल्मको प्रस्तुतकर्ता अद्वितीय प्रधान हुन भने निर्मातामा रेबिका प्रधान छिन् । कार्यक्रममा निर्देशक निमेषले आफ्नो फिल्ममा नौलो प्रेमकथा प्रस्तुत गरिएको बताए ।

अभिनेत्री पूजाले ‘सम्झना बिर्सना’ टिमसँग काम गर्न पाउदा निकै खुशी लागेको बताइन् । उनले अभिनेता आकाश आफूलाई कन्फर्ट लाग्ने बताउदै दर्शकले आफूहरुलाई यो फिल्ममा पुनः एकपटक संगै देख्न पाउने बताइन् । ‘मलाई आकाश र पलसँग काम गर्न निकै सहज लाग्छ । दर्शकले पनि म र आकाशलाई फेरि एकपटक पर्दामा हेर्न चाहनु भएको छ । त्यसकारण पनि मलाई यो फिल्मप्रति निकै मोह छ ।’ उनले फिल्म निकै राम्रो बनेकाले फेरि पनि सबैको माया पाउनेमा ढुक्क रहेको बताइन् ।

त्यसैगरी, अभिनेता आकाशले ‘सम्झना बिर्सना’ सम्झन लायक फिल्म भएको बताउदै कोरोनापछि यही फिल्ममार्फत आफू पर्दामा आउन लागेकोमा दर्शकको माया पाउने बिश्वास ब्यक्त गरे । कार्यक्रममा निर्मात्री रेबिकाले आफूहरुले निकै मिहीनेतका साथ फिल्म बनाएकाले सबैको साथ,हौसला र मायाको आशा राखेको बताइन् ।

गायक,गीतकार र संगीतकारसमेत रहेका निमेषले आफ्नो फिल्मले दर्शकलाई भरपुर मनोरञ्जन दिने दावी गरे । फिल्मका प्रस्तुतकर्ता अद्वितीयले आफूहरु निरन्तर नेपाली फिल्म निर्माण गर्ने योजनामा रहेको बताउदै ‘सम्झना बिर्सना’ ले दर्शकको मन जित्ने बिश्वास ब्यक्त गरे ।
सोही क्रममा छायाँकार शिब ढकालले दर्शकको मनोरञ्जनका लागि निकै मिहिनेतका साथ फिल्म निर्माण गरिएकाले सफल हुनेमा सतप्रतिशत बिश्वस्त रहेको बताए । कोरियोग्राफर कमल राईले हरेक बर्गका दर्शकलाई यो फिल्म मन पर्ने दावी गरे ।

आदित्य फिल्म्स्को प्रस्तुति रहेको ‘सम्झना बिर्सना’ शिब ढकालले खिचेका हुन भने सम्पादन तारा थापा ‘किम्भे’ ले गरेका छन् । फिल्मका गीतमा राजन इशान, सुदर्शन तामाङ र निर्देशक निमेषकै संगीत छ । कमल राईको कोरियोग्राफी रहेको फिल्मको प्रोडक्शन राम कार्की र कृष्ण प्रधानले सम्हालेका छन् । फिल्मको ट्रेलर छिट्टै सार्वजनीक गरिने जानकारी निर्देशक निमेषले दिएका छन् ।