चलचित्र ‘हेल्लो जिन्दगी’ दोश्रो सातामा


ब्युटी न्युज नेपाल
काठमाडौं,२५ चैत्र

चलचित्र ‘हेल्लो जिन्दगी’ शुक्रबारदेखि दोश्रो सातामा प्रवेश गरेको छ । चैत्र १८ गते प्रदर्शन भएको फिल्मले बिदेशी फिल्मका कारण मल्टिप्लेक्समा उल्लेख्य शो नपाए तापनि सिंगल थिएटरमा भने दर्शकको साथ पाइरहेको छ ।

एभरेष्ट सूर्य बोहरा निर्देशीत यो चलचित्र दोश्रो सातामा प्रदर्शन भइराख्दा ‘हेल्लो जिन्दगी’ का अभिनेता बिक्रम डि जोशीको अभिनयले पनि तारिफ पाइरहेको छ । यसअघि ‘ह्याप्पी डेज’ र ‘पासवर्ड’ मा अभिनय गरेका जोशी ‘हेल्लो जिन्दगी’ मा प्रमुख भूमिकामा छन् । सत्य घटनाहरुबाट प्रभावीत कथामा फिल्म निर्माण गरिएको र अभिनेता जोशीले सो भूमिकामा न्याय गरेको फिल्म हेरेका दर्शकको प्रतिक्रिया छ । फिल्ममा बिक्रम संघर्ष गरेर स्थापीत भएको बिजय नामक नामुद होटल ब्याबसायीको भूमिकामा छन् । विजयको जीवनमा जस्मिन (दीपीका प्रसाई) को प्रबेशले आउने अकल्पनीय आरोहअबरोह प्रस्तुत गरिएको छ । युके,मुस्ताङ,पोखरा र काठमाडौमा खिचिएको फिल्मलाई कतिपय दर्शकले आफ्नो जीवनसँग मेल खाएको बताउने गरेका छन् । केही दिनअघि आयोजीत फिल्मको बिशेष शोमा बरिष्ट अभिनेता मदनकृष्ण श्रेष्ठले ‘हेल्लो जिन्दगी’ आफूलाई निकै मन परेको बताएका थिए । ‘मैले एक झिमिक पनि नपारि फिल्म हेरें,’ उनको प्रतिक्रिया थियो,‘फिल्म सरर बगेको छ । अल्झनै कुनै ठाउँ छैन । फिल्मले मनोरञ्जन त दिन्छ नै, त्यसको साथै उपयोगी सन्देश पनि छ । त्यसैले देशबिदेशमा बस्ने जतिले यो फिल्म हेर्नुपर्छ ।’ सोही कार्यक्रममा अर्का हाँस्य अभिनेता रबिन्द्र झा,यमन श्रेष्ठ,डा. समीरमणि दीक्षितलगायतले पनि फिल्म मन परेको बताएका थिए ।

अभिनेता बिक्रम र निर्देशक एभरेष्टको कथा रहेको फिल्ममा बिक्रमका साथमा दीपीका, प्रियंका कार्की,विल्सन बिक्रम राई,बिक्रान्त बस्नेत,सविता गुरुङ,निर्देशक बोहरा स्वयम्लगायतले अभिनय गरेका छन् । हिराल जोशी र बिक्रम जोशी निर्माता, सृजना जोशी कार्यकारी निर्माता र सबिता गुरुङ सहनिर्माता रहेको फिल्मलाई बिरञ्जना इन्टरटेन्मेन्टले निर्माण गरेको हो ।

‘हेल्लो जिन्दगी’ प्रदर्शनसँगै यही टिमले छिट्टै नै नयाँ फिल्म निर्माणको तयारी गरेको छ । केही दिनमै फिल्मको औपचारिक घोषणा गरिने निर्देशक बोहराले जानकारी दिएका छन् । बिरञ्जना इन्टरटेन्मेन्टको ब्यानर र महारानी इन्टरटेन्मेन्ट युकेको सहकार्यमा निर्माण हुने फिल्मको निर्देशन पनि बोहराले नै गर्ने छन ।