नेकपा विभाजन, ओलीले आफ्ना निकट ५५६ जनालाई केन्द्रिय सदस्य बनाए


ब्युटी न्युज नेपाल
काठमाडौं, ७ पुष

अन्तत सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफु अध्यक्ष यथावत रहेको दाबी सहित आफ्नो निवास बालुवाटारमा बैठक बोलाएर केन्द्रिय कार्यसमितिको जम्बु टोली बनाएका छन् । उता पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पक्षको सँयुक्त भेला बोलाएर आफु दुई जनाले अध्यक्षको जिम्मेवारी सँयुक्त रुपमा लिएका छन् ।

कार्की बैंक्वेट काठमाडौंमा भएको सो भेलाले प्रधानमन्त्री ओलीलाई अध्यक्षको पदबाट हटाएर उनको ठाउँमा माधव कुमार नेपाललाई अध्यक्षमा नियुक्त गरेको छ । यसरी मँगलबारबाट विधिवत रुपमा नेपाल कम्युनिष्ट पार्टी दुई धारमा विभाजन भएको छ । अब पार्टीको आधिकारिकता (विधान, झन्डा, चुनाव चिन्ह) कसले पाउँछ भन्नेबारे निक्र्योल हुन बाँकी छ ।

प्रधानमन्त्री ओलीले सुरुमा केन्द्रिय कार्यसमितिको बैठक आफ्नै निवासमा बोलाएर पार्टीको नयाँ महाधिवेशन घोषणा सहित ११९९ जना केन्द्रिय महाधिवनेश आयोजक कमिटी घोषणा गरेपछि दाहाल र नेपाल पक्षले पनि भेला राखेका हुन् ।

प्रधानमन्त्री ओलीले मंगलबार बिहान ९ बजे बालुवाटारमा आफूनिकट नेताहरुको बैठक राखे । उनले सो बैठकबाट नारायणकाजी श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारीबाट हटाए । श्रेष्ठको ठाउँमा प्रवक्ताको रुपमा प्रदीप ज्ञवालीलाई नियुक्त गरे । सो भेलाबाट ओलीले हालको केन्द्रीय कमिटी सदस्य (४४५) संख्यामा करिब दुई तिहाई बढाएर ११९९ जना केन्द्रिय सदस्य घोषणा गरे । जसलाई उनले महाधिवेशन आयोजक कमिटीको रुपमा घोषणा गरे । ओली समूहले पार्टीको महाधिवेशन आगामी वर्ष मंसिर २ मा गर्ने निर्णय गरेको छ ।

उनले ५५६ जनालाई तत्काल केन्द्रीय कमिटीमा नियुक्त गरेका छन् । सो भेलाबाट ओलीलाई अध्यक्षकै रुपमा, विष्णु प्रसाद पौडेललाई महासचिबकै रुपमा घोषणा गरियो । भेलाले प्रदीप ज्ञवालीलाई प्रवक्ता तोकेको छ भने पर्सि ९ गते महाधिवेशन आयोजक कमिटीको पहिलो बैठक बोलाइएको छ ।

भेलामा ओलीले नेकपाको अध्यक्ष आफु भएको दाबी सहित आफ्ना निकटलाई केन्द्रीय सदस्य मनोनयन सहित सपथ समेत खुवाएका छन् । यी सबैकुराको जानकारी मंगलबार नै निर्वाचन आयोगलाई गराएर आफुहरु नै आधिकारिक नेकपा भएको दाबी गरेका छन् ।

अझ गजब पक्ष के भने प्रवक्ताबाट ओलीले नारायणकाजी श्रेष्ठलाई हटाए पनि आफ्नो पक्षको पार्टीमा प्रचण्ड अध्यक्ष, झलनाथ खनाल र माधव नेपाल बरिष्ठ नेताकै रुपमा राखेका छन् । विष्णुप्रसाद पौडेल ओली समूहको पार्टीमा महासचिवकै हैसियतमै छन् ।

सोमबार बसेको नेकपाको बैठकले ओलीलाई सँसद बिघटन गरेको बारे अनुसासनको कारवाही गरेपछि मँगलबार बिहान आफ्नो निवासमा भेला बोलाएर ओलीले यस्तो निर्णय लिएका हुन् । उनका उनका निकट महासचिब र प्रवक्ताले विधान सम्बत भएको दाबी गरेका छन् ।