ब्युटी न्युज नेपाल

काठमाडौँ, २३ मँसिर

सामान्यभन्दा मोटा युवतीहरुलाई लक्षित गर्दै ‘सुपर प्लस साइज मोडल नेपाल ’ सौन्दर्य प्रतियोगिता आयोजना हुने भएको छ । मोडल सङ्स नेपालको आयोजनामा यस प्रतियोगिताको दुई संस्करण नेपालमा सम्पन्न भइसकेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण स्थगित भएको प्रतियोगिताको तेश्रो संस्करण ‘सुपर प्लस साइज मोडल नेपाल,२०२१’ आयोजना हुँदैछ ।

प्रतियोगितामा १६ देखि ५५ बर्ष उमेर समूहका विवाहित तथा अविवाहित युवतीरमहिलाहरुले भाग लिन सक्नेछन् । ५५ केजीभन्दा माथिको तौल भई स्पष्ट रुपमा मोटोपना देखिएको हुनुपर्ने प्रावधान तोकिएको छ । काठमाडौँमा पुसको अन्तिम साता अडिसन हुने आयोजक पक्षले जनाएको छ । अडिसनमार्फत छनोट हुने प्रतिस्पर्धीहरुलाई करिव एक महिना लामो विशेष प्रशिक्षण दिइने छ । कोरियोग्राफर रोजिन शाक्यबाट मोडलिङसम्बन्धी ज्ञान तथा प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।

प्रतियोगिताका विजेताले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘वर्ल्ड टप प्लस साइज, २०२१’ मा सहभागिता जनाउन पाउने पनि दाबी गरिएको छ । उत्कृष्ट तीन रनरअपले विभिन्न गिफ्ट ह्याम्परहरुको साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका बिभिन्न फेशन शो तथा सौन्दर्य प्रतियोगिताहरुमा समावेश हुने अवसर प्राप्त गर्ने  पनि आयोजक संस्थाले जानकारी दिएको छ ।