बुक हिलले ल्यायो सत्ता र सत्य


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ असोज

राजनीतिक चिन्तक, विश्लेषक एवम् लेखक खगेन्द्र संग्रौलाको पछिल्लो पुस्तक ‘सत्ता र सत्य’ सार्वजनिक भएको छ । श्रव्य–दृश्यमार्फत सामाजिक संजालबाट लेखकीय अभिव्यक्ति दिँदै पुस्तकको लोकार्पण गरिएको हो । अमेरिकी लेखक मेरी डेशनले छनोट गरेका विश्वविख्यात आठ चिन्तकहरुका एघारवटा दार्शनिक निबन्धहरुलाई संग्रौलाले अनुवाद गरेका हुन् । विलियम मोरिस, आन्टोनियो ग्राम्स्की, अल्बर्ट आइन्सटाइन, बर्टोल्ट ब्रेख्त, विलियम हिन्टन, इडुआर्दो ग्यालिआनो, हवार्ड जीन, एडवर्ड डब्लु सइदका प्रसिद्ध विचारप्रधान निबन्धहरु पुस्तकमा संग्रहण गरिएका छन् ।

१५ वर्षको समय लगाएर अनुवाद गरिएका निबन्धहरुको यस पुस्तकले लोक कल्याणकारी सत्यको पक्षमा उभिएर सत्तासँग विमर्श गर्छ, सत्तासँग प्रतिवाद गर्छ, सत्ताको प्रतिरोध गर्छ, नयाँ जीवन प्रणालीको परिकल्पना गर्छ । आफ्नो जीवनका आजसम्मका कृतिहरुमा यो पुस्तक सबैभन्दा महङ्खवपूर्ण र सर्वकालिक कृति हुने संग्रौलाको ठम्याइ छ । पुस्तकलाई बुक–हिल पब्लिकेसनले प्रकाशन गरेको हो । पुस्तकको मूल्य ५०० रुपैयाँ रहेको छ ।

पुस्तकबारे अनुवादक संग्रौला भन्छन्, “यो पुस्तक आजको विश्व पुँजीवादको आलोचना हो र विश्व पुँजीवाद न मानवजातिका लागि कल्याणकारी भयो, न प्रकृतिका लागि कल्याकारी भयो, न मानिस र प्रकृतिको सम्बन्धलाई सन्तुलितरूपमा यसले कायम राख्न सक्यो । त्यसैले यो पुस्तकले विश्व व्यवस्थाको विकल्पको परिकल्पना गर्छ । यद्यपि सबै विद्वान्हरुले समाजवादको मुखररुपमा वकालत नगरे पनि तर प्रकारान्तरले अबको विश्व जाने भनेको समाजवादमा हो । र, त्यो समाजवाद भनेको मानवीय अनुहारसहितको समाजवाद हो ।”

नेपालको सन्दर्भमा यो पुस्तक किन पढिने भन्नेबारे संग्रौला भन्छन्, “नेपालको अहिलेको सबैभन्दा ठूलो समस्या भनेको विचारको रिक्तता हो । विचारको टाट पल्टाई हो । कांग्रेस कांग्रेसजस्तो छैन, कम्युनिस्ट कम्युनिस्टजस्तो छैन । कांग्रेस र कम्युनिस्टले आफ्नो परम्परागत आदर्श र लोगोलाई व्यवसायको रुपमा व्यापार मात्रै गरेका छन् । त्यसैले सत्ताधारीलाई दिशाहिनताबाट सत्मार्गमा लैजान यो पुस्तकले डो¥याउने मेरो विश्वास छ ।”

मानव समाजलाई न्याय, समानता र उज्यालोको बाटोमा लैजान प्रेरित गर्ने यस पुस्तकको भूमिकामा राजनीतिक विश्लेषक सिकेलालले सबैखाले दर्शनको शाश्वत निष्कर्ष र कुनै पनि विचार अन्तिम नहुने भन्दै स्वतन्त्र चिन्तन र अभ्यासबाट अग्रगमनतर्फ बढ्न यो पुस्तक सहायक हुने बताएका छन् ।