राष्ट्रिय सम्मानका साथ राष्ट्रकविको अन्त्यष्टी


ब्युटी न्युज नेपाल
काठमाडौं, ३ भदौ

मँगलबार बेलुका ५ः५५ बजे निधन भएका राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज मध्यान्नपछि पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको छ । राष्ट्रकवि घिमिरेको १०१ वर्षको उमेरमा स्वास प्रश्वास सम्बन्धि समस्याबाट आफ्नै निवास लैनचौरमा निधन भएको थियो ।

उनको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । सो क्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले घिमिरेको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाएर राष्ट्रियसम्मान अर्पण गरे । अन्त्यष्टीको क्रममा पशुपति आर्यघाटमा घिमिरेको सम्मानमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

अन्त्यष्टी अघि उनको पार्थिव शरीरमा विभिन्न श्रष्टा तथा शुभचिन्तकहरुले फुलगुच्छा चढाएर श्रद्धासुमन अर्पण गरेका थिए । नेपाली सेनाको विशेष व्यबस्थापनमा राष्ट्रकवि घिमिरेको अन्त्यष्टी सम्पन्न भयो ।

उपराष्ट्रपति नन्दबहादुर पुनले एक शोक विज्ञप्ति जारी गर्दै राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनको खबरप्र्रति शोक प्रकट गरेका छन् ।

यस्तै बरिष्ट सँगीतकार तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति शम्भुजीत बासकोटाले पनि एक शोक विज्ञप्ति जारी गर्दै राष्ट्रकविको निधन प्रति शोक ब्यक्त गरेका छन् । राष्ट्रकविका थुप्रै गीतहरुमा आफुले सँगीत गरेको स्मरण गर्दै उनी सार्थक कविसँगै त्यतिकै सफल गीतकार पनि भएको स्मरण गरेका छन् ।

यस्तै साझा प्रकाशनले पनि बुधबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रकवि घिमिरेको निधन प्रति शोक प्रकट गरेको छ । दिवँगत राष्ट्रकवि घिमिरेको परिवारमा श्रीमती दुई छोरा र ६ जना छोरी रहेका छन् ।