मनिष, साम्राज्ञी र आना नयाँ फिल्ममा जोडिए


ब्युटी न्युज नेपाल
काठमाडौं, २३ साउन

बिगतमा एकल नायिकाको मात्र भूमिका निर्वाह गर्दै आएकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले यसपटक सँयुक्त अभिनेत्रीको भूमिका निर्वाह गर्दैछिन् ।

‘अमेरिका बोइज’ निर्देशन गरेका प्रवेश पौडेलले आफ्नो निर्देशनमा बन्ने नयाँ चलचित्रमा अभिनेत्रीद्वय साम्राज्ञी राज्य लक्ष्मी शाह र आना शर्मालाई अनुबन्धित गरेका गरेका हुन् । यही चलचित्रमा साम्राज्ञी र आना मुख्य भूमिका प्रस्तुत हुँदैछन् ।
नाम सार्वजनिक नगरिएको यो नयाँ चलचित्रमा ‘प्रेम गीत ३’का अभिनेता मनिष राउतले नायकको रुपमा काम गर्ने भएका छन् । राउतले दुई नायिकासँग त्रिकोणात्मक प्रेम सम्बन्ध यसमा निर्वाह गर्नेछन् ।

आफ्नो पहिलो फिल्म रिलीज नहुँदै राउतले अर्को फिल्ममा काम गर्न लागेका हुन् । ‘प्रेम गीत ३’मा नायक प्रदीप खड्कासँग काम गरेका मनिषले आगामी चलचित्रमा प्रमूख भूमिका निभाउँदै छन् । यो नयाँ चलचित्रको लागि ३ जना कलाकारसँग नै बिहिबार सम्झौता भएको छ ।

यो फिल्म सिबर्डस् पिक्चर्स र सौर्य इन्टरटेनमेन्टको ब्यानरमा बन्ने छ । निर्देशक पौडेलले फिल्म कलेज ओस्कार इन्टरनेशनल कलेजबाट निर्देशन बिषय अध्ययन गरेका हुन् । फाइनल स्क्रिप्टमा काम भईरहेको यो फिल्मको शीर्षक भने फाइनल नभएको निर्देशक पौडेलले बताए ।

‘यूवा मनोविज्ञानमा आधारित रहेर बन्न लागेको यो चलचित्रमा उपयुक्त कलाकार छान्ने क्रममा साम्राज्ञी, आना र मनिषलाई छनौट गरिएको हो । अब एकजना पुरुष कलाकार र एकजना महिला कलाकारको जरुरत छ । हामीले अडिशनबाट छान्ने प्रक्रियामा छौँ’, निर्देशक पौडेलले भने, ‘कमिङ् एज’ को कथामा हामीले दुई बर्ष देखी काम गरिरहेका थियौँ, अब भने यसले मूर्तरुप लिन लागेको छ । कोरोना महामारी पश्चात सहज वातावरण बनेपछि हामी फ्लोरमा जानेछौँ’ ।

‘डक्टर डेनिम’को प्रस्तुतीमा बन्ने यस फिल्मका निर्माता छत्र जंग पाण्डे र अनुप पौडेल हुन् । सह निर्माता करन साउद हुन् ।