सिनेकर्मीलाई गालीगर्ने दर्शकलाई मुद्धा हाल्ने चेतावनी


ब्युटी न्युज नेपाल
काठमाडौं, ३० असार

पछिल्लो समय दर्शकबाट चलचित्रकर्मीलाई सामाजिक सञ्जालमा व्यापक अश्लिलयुक्त गाली गरियो भन्दै यस्तो गाली रोक्न नेपाली चलचित्रसँग सम्बन्धित विभिन्न ७ संगठनहरुले संयुक्त वक्तव्य जारी गरेका छन् ।

सोमबार एक विज्ञप्ति जारी गर्दै सिनेकर्मीहरुले गाली गजौल नरोकेमा नेपालको साइबर कानुन र विदेशबाट आएको गालीलाई परराष्ट्र मन्त्रालयमार्फत कारवाही गर्ने चेतावनी दिएका छन् । नेपाल चलचित्र संघ, नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र द्धन्द्ध संघ, नेपाल चलचित्र नृत्य संघका अध्यक्ष सहितका पदाधिकारीले संयुक्त विज्ञप्ती जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।

विज्ञप्तीमा भनिएको छ–‘सबैलाई अभिव्यक्ति स्वतन्त्रता संविधानले दिएको छ । अभिव्यक्त गर्न पाउनु व्यक्तिको अधिकार हो । अभिव्यक्ति स्वतन्त्रताको नाममा कसैको मानमर्दन हुनु, अश्लिल आक्षेप लगाउनु, व्यक्तिगत चरित्र हत्या गर्नु, कसैको पनि अधिकार छैन । यस किसिमको हर्कत निन्दनिय मात्र होइन, अक्षम्य पनि हुन्छ ।’

यस्तै दर्शक र चलचित्रकर्मी बीच अन्योन्याश्रित सम्बन्ध रहेपनि कुनै एक पक्षबाट शिष्टताको पराकाष्ट नाघेमा कानुनी उपचारमा जानु वाध्यकारी हुने पनि बिज्ञप्तिमा उल्लेख गरिएको छ । उनीहरुले चलचित्रकर्मीलाई पनि आबसी बिबाद भन्दा मिलेर अघि बढ्न विज्ञप्तिमार्फत अनुरोध गरेका छन् ।