बिदेशबाट २६ हजार ३९६ जना नेपालीको उद्दार, १५७ वटा शव नेपाल ल्याइयो


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ असार

नेपाल सरकारले गत जेठको चौथो साताबाट सुरु गरेको उद्धार कार्यक्रम अन्तर्गत बिदेशमा रहेका नेपालीहरुलाई नेपाल ल्याउने कार्य सोमबार र मँगलबारका लागि २ दिन रोकेको छ । तीन साता देखि लगातार चार्टर फ्लाईट मार्फत नेपालीलाई नेपाल ल्याउने कार्य भईरहेको र अब उद्धारको नयाँ सूची तयार गर्नका लागि चार्टर फ्लाईट रोकेको सरकारले जनाएको छ । अब व्यबसायिक उडान सुरु गर्नेबारे छलफल भईरहेको पनि सरकारले जनाएको छ ।

यो अबधिमा बिदेशमा रहेका २६ हजार नेपालीलाई नेपाल सरकारले चार्टर फ्लाईट मार्फत आफुहरुको सहकार्यमा उद्धार गरेको गैरआवासीय नेपाली संघका प्रेस संयोजक चिरन शर्माले एक विज्ञप्ति मार्फत जनाएका छन् ।

नेपाल सरकार, कुटनीतिक निकाय र गैरआवासीय नेपाली संघको पहलमा विभिन्न २३ मुलुकमा अलपत्र परेका, भिसा अवधि सकिएका, आफन्त भेटघाटमा गई उतै रोकिएका र अन्य विविध कारणले समस्यामा परेका २६ हजार ३ सय ९६ जना नेपालीको उद्धार गरेको संघले जनाएको छ ।

सो विज्ञप्ति अनुसार विभिन्न एयरलाइन्सका १४९ उडान फ्लाइटमार्फत उनीहरुको उद्दार गरिएको हो । गत जेठको मध्यदेखि सुरु उद्धार उडानमार्फत हालसम्म संयुक्त अरब एमिरेट्स युएईबाट ५ हजार ५२७ सय जनाको उद्धार भएको छ । कुवेतमा आममाफी पाएका र अन्य अलपत्र गरी धेरै ५ हजार २४३ जनाको उद्धार गरिएको छ । यस्तै साउदी अरबबाट ४ हजार ३० जना, मलेसियाबाट ३ हजार ५३, कतारबाट २ हजार ८८४ जनाको उद्धार गरिएको हो ।

यस्तै अफगानिस्तानबाट १८, अष्ट्रेलियाबाट ४८३, म्यानमारबाट २६, जापानबाट ४९२, थाइल्याण्डबाट ३२६, दक्षिण कोरियाबाट ४७६, बंगलादेशबाट ८४१, माल्दिभ्सबाट ७०९, श्रीलंकाबाट ५, सिंगापुरबाट १४६, हङकङबाट ८९, बहराइनबाट ५६७, अमेरिकाबाट ४२३, बेलायतबाट २२९, इजरायलबाट १२७ र चीनबाट १०५ जनालाई स्वदेश फर्काइएको हो । शनिवार मात्रै विभिन्न मुलुकबाट १ हजार ३८१ जना स्वदेश फर्किएका छन् ।

यो अबधिमा विभिन्न मुलुकमा मृत्यु भएका नेपालीहरु मध्य १५७ वटा शव नेपाल ल्याएर परिवारलाई बुझाइएको छ । विदेशमा विभिन्न कारण ज्यान गुमाएका ४०६ जनामध्ये १४६ जनाको परिवारको सहमतिमा बिदेशमै अन्त्येष्टि गरिएको छ । विदेशबाट अझै १ सय ९ वटा शव नेपाल ल्याउन बाँकी रहेको पनि एनआरएनले जनाएको छ ।